प्रस, वीरगंज, २६ साउन/
रक्त सञ्चार केन्द्र वीरगंजले गत आव २०७७/७८ मा विभिन्न उमेर समूहबाट १० हजार ७२९ पिन्ट रगत सङ्कलन भएको जनाएको छ ।
केन्द्रका प्रमुख प्राविधिक सौरभराज पाण्डेयले सबैभन्दा बढी १८ देखि ३० वर्षका युवाहरूबाट ६ हजार ६ सय पिन्ट रगत सङ्कलन भएको बताए । यसैगरी, ३१ देखि ४० वर्षका २२२८, ४१ देखि ५० वर्षका ११०५ र ५१ देखि ६० वर्षका ७९६ जनाबाट गत वर्ष १० हजार ७२९ पिन्ट रगत सङ्कलन भएको उनले बताए ।
प्राविधिक प्रमुख पाण्डेले १० हजार ७२९ पिन्ट रगत सङ्कलन भएपनि ११ हजार ३३४ पिन्ट रगत वितरण भएको बताए । उनले थप रगत शोधभर्नाबाट पूर्ति गरिएको जानकारी गराए । गत वर्षको तथ्याङ्क अनुसार सबैभन्दा बढी रगत महिलाहरूमा खपत भएको उनले बताए ।
८ हजार ५ जना महिला र ३ हजार ८८० जना पुरुषलाई रगत वितरण गरिएको उनले जानकारी गराए । प्राविधिक प्रमुख पाण्डेले वितरण भएको ११ हजार ३८५ रगतमध्ये होल ब्लड ९ हजार ८११ पिन्ट, प्याकसेल ८५०, एफएफपी ८०, पिपिआर ६१० र प्लेटलेट्स कन्सेन्टे«टबाट ३४ गरी ११ हजार ३८५ रगत पिन्ट भएको बताए ।
८ महिलासहित ५१ जनाद्वारा रक्तदान
प्रस, वीरगंज/
हाम्रो युवा समूह जीतपुरसिमरा उपमहानगर–१४ राजघट्टामा आयोजित रक्तदान कार्यक्रममा आठजना महिलासहित ५१ जनाले रक्तदान गरेका छन् ।
रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले मङ्गलवार आयोजित रक्तदान कार्यक्रममा रामप्रसाद शर्मा, रञ्जीता पौडेल, साबुन लामा, प्रदीप चौधरी, हरिकिशोर महतो, अशोक शर्मा, विनोद रिमाल, नितेश उप्रेती, निकिता थापालगायतले रक्तदान गरेको बताए ।