बलिराम शुक्ला, बिरुवागुठी, २५ साउन/

पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रसिद्ध दुग्धेश्वरनाथ महादेव मन्दिरमा तिथिले तेस्रो सोमवार आज भाकल भएका मानिसहरूलाई मात्र प्रवेश गर्न दिइएको छ ।

नेपाल–भारतका विभिन्न स्थानबाट बालबालिकासहित भाकल पूरा गर्न आएका मानिसहरूमध्ये १०/१० जना गरेर आलोपालो रामभौरीभाठास्थित दुग्धेश्वरनाथ मन्दिरमा दर्शन गर्न दिइएको चारभैया पोस्टले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज प्रशासन र चारभैया पोस्टका सुरक्षाकर्मीलाई मेला भर्न आएकाहरूले आफूहरूको भाकल रहेको भनी हारगुहार गरेपछि आलोपालो १०/१० जनालाई मन्दिर दर्शन गर्न दिइएको थियो । आज बिहानैदेखि मेला भर्न ठूलो सङ्ख्यामा भक्तजनहरू ओइरिएका थिए ।

यसअघि नै पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले मेला समितिका १५ जनालाई मात्र मन्दिरमा नियमित पूजा गर्न सोमवार छुट दिएको थियो । अन्य भक्तजनहरूलाई भने निकुञ्ज प्रवेशमा रोक लगाएको थियो । कोरोना सङ्क्रमणको कारण गत वर्षदेखि दुग्धेश्वरनाथको मेला प्रभावित भएको छ । साउनमा यो ठाउँमा एक महीना मेला लाग्थ्यो ।

तर गत वर्षदेखि मेला लागेको छैन भने आममानिसलाई पूजाअर्चनामा पनि रोक लगाइएको छ। आज तेस्रो सोमवार बालबालिकासहित गएका भक्तजनहरूलाई मात्र मन्दिर प्रवेश गर्न दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here