नितेश कर्ण, वीरगंज, २५ साउन/

चालू आव २०७८/७९ को सुरुआतमा जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकताविरुद्ध दुईवटा मुद्दा दर्ता भएको र एकजना नेपाली तथा दुईजना विदेशी पक्राउ परेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

एकजना स्वदेशी र एकजना विदेशी गरी दुईजना पुरुष र एकजना विदेशी महिला नागरिकता मुद्दामा पक्राउ परेको उनले बताए ।

गत आव २०७७/७८ मा सबैभन्दा बढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको थियो । ६७ वटा मुद्दा दर्ता भएकोमा ९३ जना विदेशी पुरुष र २० जना विदेशी महिला फरार रहेको उनले बताए । गत वर्ष नागरिकतासम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएपनि पक्राउ भने एकजना पनि परेका छैनन् ।

यसैगरी २०७६/७७ मा नागरिकतासम्बन्धी दुईवटा मुद्दा दर्ता भएकोमा दुईजना स्वदेशी पुरुष पक्राउ परेको र चारजना स्वदेशी पुरुष, एकजना स्वदेशी महिला र १२ जना विदेशी पुरुष फरार रहेको उनले बताए ।

सप्रजिअ पौडेलले खासगरी २०६३ सालमा नागरिकता लिएका व्यक्तिहरूविरुद्ध गत वर्ष धेरै उजूरी परेको र अहिले पनि २०६३ सालमा नागरिकता लिएका विरुद्ध उजूरी परेको बताए । उजूरी सम्बन्धमा छानबिन गरेर मुद्दा दर्ता गरिएको र फरार व्यक्तिको खोजी भइरहेको उनले बताए । विदेशी व्यक्तिहरू फरार सूचीमा बढी भएकाले उनीहरूलाई पक्रन समस्या भएको सप्रजिअ पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जिल्ला प्रशासन कार्यालयले लामो समयदेखि नागरिकता सम्बन्धमा छानबिन गरेको र गत वर्ष एकैपटक ७७ वटा फाइल प्रहरीमार्फत कारबाईको लागि पठाएकोले गत वर्ष नागरिकतासम्बन्धी मुद्दा ह्वात्त बढेको प्रस्ट्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here