प्रस, वीरगंज, २५ साउन/

वीरगंज महानगरपालिकामा रहेका संस्थागत विद्यालयहरू एकपछि अर्को गरी सबै सञ्चालनमा आएका छन् ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुनुभन्दा अघि चैतदेखि नै विद्यालय बन्द भएकामा अहिलेसम्म जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले विद्यालय सञ्चालनको अनुमति नदिए पनि वीरगंज महानगरका सबै संस्थागत विद्यालय प्रायः खुलिसकेका छन् ।

असार १ गतेदेखि विद्यालय सञ्चालनको लागि वीरगंज महानगरपालिकाले स्वीकृति प्रदान गरे पनि जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको सिफारिशका आधारमा मात्र विद्यालय खुल्ने हुनाले सो समितिले अहिलेसम्म विद्यालय खुला गर्न स्वीकृति दिएको छैन ।

यस वर्ष विद्यालयको नयाँ शैक्षिक सत्र असार १ गतेदेखि शुरू भएको हो । नयाँ शैक्षिक सत्र शुरू भएपनि विद्यालय भर्ना अभियान छिटपुटरूपमा मात्र भएको छ । केही सामुदायिक विद्यालयले विद्यालय भर्ना अभियान चलाएका छन् भने पुस्तक वितरण र छात्रवृत्ति पनि वितरण गर्दै आएका छन् तर भौतिकरूपमा सामुदायिक विद्यालयहरू एकाधबाहेक सञ्चालनमा छैनन् । तर यो अवधिमा संस्थागत विद्यालयहरू भने पर्सा जिल्लाभरि नै सञ्चालनमा आएका छन् ।

संस्थागत विद्यालयहरूको छाता सङ्गठन प्याब्सन, एन–प्याब्सनले आधिकारिकरूपमा विद्यालय खोल्न सूचना जारी गरेका छैनन् तर त्यसका पदाधिकारीहरूले सञ्चालन गरेका विद्यालयसमेत अहिले भौतिकरूपमा खुलिसकेका छन् । प्याब्सन, पर्साका अध्यक्ष हरिशङ्कर साहले निषेधाज्ञा खुकुलो भई सबै क्षेत्र खुलिसकेको अवस्थामा विद्यालय मात्र बन्द गर्नु र विद्यालयबाट मात्र कोरोना सर्ने सोच राख्नु गलत भएकोे बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here