नयाँ दिल्ली, २५ साउन/एएनआई

भारतमा कोरोना भाइरसबाट एकै दिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

अघिल्ला दिनहरूको तुलनामा दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा क्रमशः कम हँुदै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिवार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका थिए भने शुक्रवार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या तीन करोड १९ लाख ६९ हजार ९५४ पुगेको अधिकारीहरूले सोमवार जानकारी दिएका छन् । मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या चार लाख दुर्ई हजार १८८ रहेको छ । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या घटेको छ ।

थपिएका सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ३९ लाख ६८६ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ३९ हजार ४५७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कुल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्याको ९७.४० प्रतिशत हो ।

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४४७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकहरूको सङ्ख्या चार लाख दुई हजार १८८ पुगेको छ ।

कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह
बेइजिङ/सिन्ह्वा

कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

उनले विश्वका देशहरूलाई यो खोप एकापसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपील गरेका हुन् ।

अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकै रूपमा देखिएको र यसको निराकरणका लागि आवश्यक सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रपति सी जिनपिङले भनेका छन्, “अहिलेको विश्वमा पनि कोरोना महामारी सबैको लागि एक चुनौतीका रूपमा रहेको छ र यसका कारणबाट हुन सक्ने क्षतिको आकलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्नेछ ।”

अहिले पनि विश्व यो महामारीसँग सङ्घर्ष गरिरहेको र कोरोना महामारीको नियन्त्रणका लागि अहिले देखिएको एकमात्र उपाय भनेको नै खोप भएकाले विश्वले एकापसमा सहयोगका साथमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति जिनपिङले हालसम्म चीनले विश्वका कम्तीमा पनि एक सय देशलाई खोप अनुदान दिएको जानकारी पनि दिएका छन् ।

साथै चीनले हालसम्म विश्वका करीब ६० देशमा खोपको निर्यात गरिरहेको जानकारी पनि गराए। हाल तेस्रो विश्वका कतिपय देशमा खोपको खाँचो महसूस भइरहेकाले सबैले यसको मात्रा प्राप्त गर्न पाऊन् भनेर सबै मिलेर आपसमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

उता चीनले हालै मात्र यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग दिने भएको जनाएको थियो ।

चीनले यसै वर्षको अन्तिमसम्ममा कोभ्याक्स कार्यक्रममा एक करोड अमेरिकी डलर सहयोग गर्ने पनि बताएको छ ।

राष्ट्रपति जिनपिङले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरूलाई कम्तीमा पनि दुर्ई अर्ब मात्रा खोप दिने हालै बताएका थिए । राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिडविरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताएका हुन् ।

कोभिड–१९ कोअपरेशन फोरमको हालै सम्पन्न भएको सो बैठकमा राष्ट्रपति सी जिनपिङले यो सन्देश दिएका थिए ।

राष्ट्रपति जिनपिङले कोभ्याक्स अन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरूका लागि उपलब्ध गराइने जानकारी पनि दिए ।

राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकीकृत गरी खोप तथा अन्य आवश्यक सहयोग जुटाउन चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिएका थिए ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here