काबुल, २५ साउन/एएनआई

अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकूहरूले अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

उनीहरूले तखार प्रान्तको राजधानी तालुकान आइतवारदेखि नियन्त्रणमा लिएको दाबी गरेका हुन् । अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही लडाकूहरूले अफगानिस्तानमा आफ्ना गतिविधिहरूलाई तीव्र बनाएका छन् ।

राजधानी कब्जामा लिएसँगै तखार प्रान्तका धेरै सार्वजनिक संरचना निष्क्रिय जस्तै भएका छन्। “मुख्य ठाउँ नै नियन्त्रणमा लिएपछि प्रान्त नै निष्क्रिय हुने नै भयो,” स्रोतलाई उल्लेख गर्दै तोलो न्यूजले लेखेको छ । उनीहरूले प्रान्तीय प्रहरी कार्यालयसमेत नियन्त्रणमा लिएको जनाइएको छ ।

तालिबान लडाकूहरूले यसअघि अरू तीन प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिइएको घोषणा गरेका थिए । योसमेत गरी उनीहरूले अफगानिस्तानका चार प्रान्तीय राजधानी कब्जा गरेका छन् । तर सो क्षेत्रमा तालिबानी र अफगान सेनाबीच सङ्घर्ष भने जारी नै रहेको जनाइएको छ ।

पछिल्लो तीन दिनमा चार प्रान्तीय राजधानी आफूहरूले कब्जामा लिएको लडाकूहरूले सोमवार दाबी गरेका छन् । लडाकूहरूले यसअघि देशको कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन् । उनीहरूले कुन्दुज प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने दाबी गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here