प्रस, परवानीपुर, २२ साउन/
वीरगंज र आसपासका क्षेत्रमा हुने मोटरसाइकल चोरीका घटनामा प्रहरीको संलग्नता रहेको समाचार प्राप्त भएको छ ।
वीरगंजलगायत आसपासका क्षेत्रमा अहिले दैनिक दुईवटा मोटरसाइकल चोरी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साको तथ्याङ्क अनुसार गत आवमा २३ वटा पल्सर मोटरसाइकल चोरी भएको थियो । त्यस्तै, २६६ वटा अन्य ब्रान्डका मोटरसाइकल चोरी भएको थियो । केही मोटरसाइकल फेला परेपछि मोसाधनीलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको भनाइ छ ।
वीरगंजबाट चोरी भएका मोटरसाइकल भारतको सीमावर्ती रक्सौल पुग्ने गर्छ । चोरी भएका मोटरसाइकल क्राइम शाखामा कार्यरत प्रहरी तथा सादा पोशाकमा रहेका प्रहरीले नै सीमासम्म पु-याउन सहयोग गर्ने गरेको समाचार स्रोतले जनाएको छ । रक्सौलको नहर चोकको उत्तरपट्टि रहेका थुप्रै कबाडपसलमा मोटरसाइकलको पार्टपुर्जा खोलेर बिक्री हुने गरेको छ ।
यसबारे भारतीय प्रहरीलाई पनि जानकारी हुन्छ तर आर्थिक प्रलोभनका कारण उनीहरूले केही गर्दैनन् । रक्सौलस्थित कबाडपसलमा नेपालीहरू नै पुगेर आफ्नो सवारीसाधनको लागि चोरी भएका मोटरसाइकलका पार्टपुर्जा किन्ने तथा सोही ठाउँमा फेर्ने गर्छन् । रक्सौलको नहर चोकमा यस्ता कबाडपसल ११ वटा छन् र त्यहाँ चोरिएका मोटरसाइकलहरूको निर्बाधरूपमा व्यापार भइरहेको छ ।
स्रोतका अनुसार वीरगंजमा मोटरसाइकल चोरी हुने बित्तिकै रक्सौलमा रहेका कबाडधनी तथा सादा पोशाकका नेपाल प्रहरीकहाँ खबर पुग्छ । जिल्ला प्रहरी कार्यालय, पर्साको क्राइम ब्रान्चमा काम गर्ने अधिकांश प्रहरी यस कार्यमा संलग्न रहेको समाचार स्रोतको दाबी छ ।
नेपाल प्रहरीसँग मोटरसाइकल चोरहरूबारे जानकारी भएपनि मोटरसाइकल चोरहरू पक्राउ नपर्नुमा प्रहरीको मिलेमतो रहेको प्रस्ट हुन्छ ।
एकातर्फ पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे समाजमा शान्ति सुव्यवस्था ल्याउन आफूहरू दिनरात खटेको बताएका पनि अर्कोतिर सादा पोशाकका प्रहरीहरूले नै चोरी र तस्करी कार्यमा संलग्न रहेको बताइन्छ ।
तत्कालीन प्रहरी उपरीक्षक गङ्गा पाण्डे क्राइम ब्रान्चका केही प्रहरीलाई यस्तो कार्यमा संलग्न रहेको पाएपछि कारबाई गरेकी थिइन् ।