प्रस, निजगढ, २२ साउन/
१३ वर्षको कलिलो उमेरमा भारत, मोतीहारी खजुरियाका हरिन्दरकुमार साह आफन्तको साथमा नेपाल छिरे । करीब ५ वर्ष आफन्तकै व्यापार व्यवसायमा काम गरे । नरिवलको पानी, उखु, भुइँकटहर, जुनारलगायत फलफूलको जुसको पसल गरे । अहिले उनी २२ वर्ष भइसकेका छन् ।
एक वर्ष हेटौंडाको सडकमा यस्तै व्यवसाय गरेका उनी तीन वर्षदेखि बारा, अमलेखगंजस्थित नेपाल आयल निगमनजीकै राजमार्गमा उखुको जुसको व्यवसाय गरिरहेका छन् । हरिन्दर नेपाली मज्जाले बोल्दै मुसुक्क हाँसेर ग्राहकले रोजेको जुस पेल्न र नरिवल पानी दिन थाल्छन् । जुस पेल्ने हाते मेशिन उनले ६० हजार रुपैयाँमा किनेको बताए । सिजन अनुसारको उखु बिर्तामोड र भारतको सिलगुढीबाट मगाउँछन् । उनी सामान किन्न बिर्तामोड, सिलगुढी जाँदैनन् । रात्रिबसबाट उखु, नरिवललगायत आवश्यक फलफूलहरू मगाउँछन् । डेढ/दुर्ई लाख रुपैयाँसम्म लगानी लगाएको उनले बताउँदै महीनामा सबै खर्च कटाएर २०–३० हजार आम्दानी हुने गरेको बताए ।
उनीसँगै भारतका तीनजना साथीले पनि यही व्यवसाय गरिरहेका छन् । अमलेखगंजमा कोठा भाडामा लिएर निरन्तर यो व्यवसाय गरिरहेको बताए । गर्मीयाममा बढी आम्दानी हुने बताउँदै जाडो महीनामा बिक्रीमा मन्दी हुने गरेको सुनाए ।
राजमार्ग भएर जाने आउने कार, जीप, मोटरसाइकलका यात्रीहरू आफ्नो ग्राहक भएको उनले बताए । उखुको जुस प्रति गिलास रु ५० र नरिवल पानी आकार हेरी रु १ सय देखि १५० सम्म बिक्री गर्दै आइरहेका छन् ।
यसै पेशा गर्दै आएका खजुरियाका २१ वर्षीय राजाकुमार साह र १८ वर्षीय भोलाकुमार साहले ६०/७० जना ग्राहक आउने गरेको बताए । बाटोमा हिंड्दा थकाइ लागेपछि यात्रीहरू फ्रेस हुन जुस पिउने गरेको उनीहरूले बताए ।
अमलेखगंज सडकमा नरिवल पानी, फलफूलको जुस व्यवसाय गर्नेहरू एक दर्जन रहेको बताए । सडकमा जुस व्यवसाय गरेर राम्रो आम्दानी गरिरहेका उनीहरूले फोहोरमैलाको व्यवस्थापनमा चासो दिएका छैनन् । उखु, नरिवलको बोक्राले सडक किनार भरिएका छन् । अहिले बाराको अमलेगंजस्थित फराकिलो सडक क्षेत्र अस्थायी जुस पिउने जक्सन बनेको देखिन्छ ।