राधेश्याम पटेल, परवानीपुर, २१ साउन/
मुलुकको प्रमुख भन्सार नाका वीरगंज–रक्सौलको मितेरी पुलको मरम्मत सम्भार हुने भएको छ ।
भारतीय सरकार मातहतको पथ निर्माण विभागले १०६ मिटर लम्बाइको आधा पुल अर्थात् ५३ मिटर कालोपत्र गरी मरम्मत गरिदिने भएको हो । वीरगंज–रक्सौल नाकालाई सौन्दर्यीकरण गर्ने अभियानका सहभागीहरूले चासो देखाएपछि उक्त पुलको मरम्मत हुने कार्य अघि बढ्ने भएको हो ।
बिहीवार वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको सक्रियतामा भारतीय पक्षसँग रक्सौल कस्टमभन्दा उत्तरमा रहेको भारतीय दूतावासको आवासमा सरोकारवालाहरूबीच छलफल भई उक्त सडक कालोपत्र गर्न नेपाली पक्षले अनुरोध गरेको थियो ।
सन् १९९४ मा भारत सरकारको नेशनल हाइवेले उक्त पुल निर्माण गरेको थियो । तर पुलको आधा हिस्सा दशगजा क्षेत्रमा पर्ने भएकोले दुवै देशका सरकार तथा स्थानीय सरकारहरू मरम्मत सम्भार गर्न हच्किंदै आएका थिए । पोहोर वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगी र पर्साका सांसद प्रदीप यादव सम्मिलित टोलीले भ्रमण गरी पुलमा भएको खाल्डाखुल्डीलाई ग्रेभलले भरिएको थियो । तर वर्षात्को बेला उक्त पुल भएर सयौं गाडी गुड्ने भएकोले उक्त पुल पुनः जीर्ण भएको छ । पुलको मध्य भागमा करीब ४ फिट गहिरो खाल्डाखुल्डी भएको छ ।
नेपाली र भारतीय पक्षले आज पुलको अवलोकन गरी भारतीय आयल कर्पोरेशनदेखि भारतीय कस्टमसम्म सडक मरम्मत गर्ने बजेट आएकोमा त्यसै योजनामा थप इस्टिमेट गरी पथ निर्माण विभागले एक हप्ताभित्र उक्त पुलको करीब ५३ मिटर कालोपत्र गरिदिने आश्वासन दिएको छ ।
विभागका इन्जिनीयर मृत्युञ्जय कुमारका अनुसार पुलको ५३ मिटर भाग भारतीय पक्षले बनाइदिने र बाँकी भाग नेपाली पक्षले कालोपत्र गरेर पुललाई मरम्मत गर्नेछ ।
वीरगंजको रजतजयन्ती चोकदेखि मितेरी पुलसम्म १३ सय मिटर सडकलाई छ लेनमा विस्तार गर्न ठेक्का लागिसकेको र चालू आवमैं उक्त सडक विस्तार गर्ने नेपाल सरकारको लक्ष्य छ । वीरगंजका सामाजिक संस्था व्यवस्थित वीरगंज र ग्रीनसिटी सामुदायिक सेवा केन्द्रको सक्रियतामा वीरगंज–रक्सौल नाकालाई सुन्दर र व्यवस्थित बनाउने अभियान अघि बढेको छ ।
सोही क्रममा शनिवार वृहत् सरसफाइ र जनचेतनामूलक कार्यक्रम पनि भोलन्टियर समूह वीरगंजले राखेको छ ।
बिहीवारको भ्रमणमा जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, भारतीय महावाणिज्य दूतावास वीरगंजका वाणिज्यदूत शैलेन्द्र कुमार, सशस्त्र प्रहरी बल भन्सार गुल्मका सप्रनि सुवर्णबहादुर बम, व्यवस्थित वीरगंजका संयोजक दिलीपराज कार्की, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, रक्सौलका समाजसेवी महेश अग्रवाल, रक्सौल नगर परिषद्का प्रमुख कार्यकारी अधिकारी विजयकुमार, पथ निर्माण विभागका कार्यकारी निर्देशक अशोक कुमार, रक्सौल कस्टमका उपायुक्त आशुतोषकुमार सिंहलगायतको सहभागिता थियो ।