ढाका, २१ साउन/एएफपी

बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरू केही व्यक्ति भने घाइते भएको जनाइएको छ ।

उत्तरी बङ्गलादेशको शिवगंजमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीबेहरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

एक स्थानीय अधिकारीले बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा भएको जानकारी दिएका छन् । दुलही विवाह समारोहमा उपस्थिति भइनसकेकीले कुनै असर नपरेको स्थानीय अधिकारी शकिब–अल–राबीले जानकारी दिएका छन् ।

हाल केही दिनयता भीषण मनसूनी आँधीबेहरीसहितको वर्षाले बङ्गलादेशलाई प्रभावित पारेको छ । कोक्सबजारको दक्षिणपूर्वी जिल्लामा एक हप्तादेखि परेको अविरल वर्षाका कारण रोहिङ्ग्या शरणार्थीसहित २० जनाको मृत्यु भएको छ । दक्षिण एशियामा प्रत्येक वर्ष चट्याड्ढा कारण सयौं मानिसको मृत्यु हुने गरेको छ । बङ्गलादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो ।

सो वर्ष मे महीनामा चट्याड्ढा कारण २०० जनाको मृत्यु भएको थियो । त्यति बेला एकै दिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो ।

मौसमविद्का अनुसार उत्तर तथा पश्चिम बङ्गलादेशमा बढी चट्याङ पर्ने सम्भावना भएका क्षेत्र हुन् । गर्मीयाममा तापक्रम बढ्दा त्यहाँ चट्याङ पर्ने सम्भावना अझ बढ्ने गरेको पाइन्छ ।

सरकारले चट्याङसम्बन्धी पूर्वचेतावनी दिन तथा क्षतिबाट जोगाउन सकिन्छ कि भनेर परीक्षणका रूपमा चट्याङ पत्ता लगाउन सक्ने क्षमता भएका सेन्सर देशका छवटा स्थानमा जडान गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here