वाशिङ्टन, २१ साउन/सिन्ह्वा

अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्ने देखिएको छ ।

पछिल्ला केही समयमा सङ्क्रमण बढेपछि कतिपय राज्यमा मास्क लगाउन अनिवार्य पनि गरिएको छ ।

त्यसैगरी, कतिपय अस्पतालमा कोभिड सङ्क्रमित बढेका समाचार पनि आइरहेका बताइएको छ। अमेरिकी संस्था “सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन”ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका सङ्क्रमित बढ्न सक्ने बताइएको छ ।

सो संस्थाका अनुसार आगामी चार हप्तामा यहाँका अस्पतालमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्तिको मृत्युदर पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

सो संस्थाले बुधवार विज्ञप्ति प्रकाशित गर्दै कोभिडको सङ्क्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकोले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन सबै नागरिकमा अपील पनि गरेको छ ।

आगामी चार हप्ता अर्थात् अगस्त महीनाको २८ तारिखसम्ममा दुर्ई हजार ३०० देखि बढीमा नौ हजारजना मानिसको मृत्यु हुने सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यी चार हप्तामा बढीमा २४ हजारजना जति सङ्क्रमित अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने पनि सो संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै आगामी चार हप्तामा अमेरिकामा तीन लाख ५० हजारदेखि १८ लाखसम्म नै नयाँ सङ्क्रमित थपिन सक्ने पनि जानकारी दिइएको छ ।

बुधवारसम्म यहाँ छ लाख १४ हजार ७०० जनाको निधन भएको छ । यहाँ पछिल्लो समयमा मृत्यु हुने दर निकै घटे पनि सङ्क्रमित भने थोरै मात्र थपिने अनुमान गरेको छ ।

केही दिनयता यो सङ्क्रमण दर बढ्दै गएको देखिए पनि हालसम्म अमेरिकामा ३५.४ प्रतिशत कोभिडका सङ्क्रमित हुन पुगेको छ ।

भारतमा झन्डै ४३ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली/एएनआई

भारतमा कोरोना भाइरसबाट थप झन्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीले बिहीवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

सोही अवधिमा अरू ५३३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४१ हजार ७२६ रहेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कुल तीन करोड १८ लाख १२ हजार ११४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

कुल सङ्क्रमितमध्ये तीन करोड नौ लाख ७४ हजार ७४८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, भारतमा अहिलेसम्म कोरोनाका कारण चार लाख २६ हजार २९० जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ४८ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४८ करोड ९३ लाख मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here