राधेश्याम पटेल, परवानीपुर, १९ साउन/
भूमिसुधार तथा मालपोत कार्यालय पर्साले संरक्षण गर्न नसक्दा पर्साका १४ वटा पालिकाका विभिन्न वडामा दर्ता रहेको जग्गाको श्रेस्ता च्यातिएको र कुनै कुनै वडाको मोठ अर्थात् ठेली नै गायब रहेको पाइएको छ ।
वीरगंज महानगरको नगवा, भवानीपुर, लालपर्सालगायत विभिन्न वडाका ठेली र श्रेष्ता नरहेको मालपोत स्रोतले जनाएको छ । श्रेस्ताको फोटो खिचेर अनलाइनमा अपडेट गर्न आएको प्राविधिक टोलीले समेत थुप्रै श्रेस्ता र केही वडाका ५० पन्ने ठेलीसमेत नभेटिएको बताएको छ ।
पिज जिओकम–सिड जेभीका प्राविधिक अमरनाथ राउतका अनुसार धेरै पहिलेदेखि मालपोत पर्सामा ठेली गायब गर्ने, श्रेस्ता च्यात्ने परम्पराका कारण थुप्रै श्रेस्ताको पन्ना नभेटिएको बताए। “कुनै कुनै वडाको पूरै पन्ना भएको मिसिल अर्थात् ठेली नै गायब छ, कसरी फोटो खिचेर हाल्ने, एउटा ठेलीमा आधा दर्जनभन्दा बढी श्रेस्ताको पन्ना च्यातिएको पनि भेटेका छौं, हामीले हाकिम साहेबलाई जानकारी गराएका छौं, श्रेस्ता जुन अवस्थामा छ, त्यतिकै पन्नाको फोटो खिचेर हालेका छौं,” राउतले भने ।
पर्सामा १४ वटा पालिकामा गरी करीब ९६ वटा ठेली रहेकामा करीब ६ हजार श्रेस्ताको पन्नाको फोटो खिचेर अपडेट गर्ने क्रममा यस्तो कमजोरी भेटिएको प्राविधिकहरूले बताएका छन् । कर्मचारीहरूले जथाभावी जग्गाको श्रेस्ताको ठेली कार्यालयमा पसेर मोठ भिडाउने गर्दा पन्ना च्यातिने गरेको बताउँछन् ।
कर्मचारीहरूले लेखनदासको बदमाशीले श्रेस्ता च्यातिने आरोप लगाउँँछन् भने लेखदासहरू कर्मचारीहरूले आर्थिक प्रलोभनमा परेर स्वयं नै श्रेस्ता च्यातेर जग्गाको स्वामित्वबारे अन्योल खडा गर्ने गरेको तर्क गर्छन् ।
तर यस विषयमा भूमिसुधार तथा मालपोत विभागले छानबीन गरी सम्पूर्ण श्रेस्ताको संरक्षण गरी सिस्टममा बसेर काम गर्ने नियम ल्याउनुपर्ने सुझाव सेवाग्राहीको छ । श्रेस्ता र मोठ जस्ता संवदेनशील कुरामा पनि मालपोतका कर्मचारीहरू संवेदनशील नबनेको र जथाभावी मोठ भिडाउन लेखनदासलाई दिने चलन बन्द गर्नुपर्ने सेवाग्राहीले अपील गरेका छन् ।