प्रस, पर्सागढी, १८ साउन/
पटेर्वासुगौली गाउँपालिकामा रहेको ऐतिहासिक दुग्धेश्वरनाथ महादेव मन्दिरमा लाग्ने साउने मेला यस वर्ष पनि कोरोना सङ्क्रमणको कारण नलागेपछि साउनको सोमवार व्रत गर्नेहरूको भीड जीतपुरसिमरा उपमहानगर अन्तर्गतको सहजनाथ मन्दिर काँठघाटमा बढेको छ ।
एक महीनासम्म लाग्ने दुग्धेश्वर महादेवको साउने मेला यस वर्ष पनि कोरोना सङ्क्रमणको कारण पर्सा राष्ट्रिय निकुञ्जले रोक लगाएको हो । त्यहाँ तिथिले सोमवार परेको साउन ११ गते १५ जना मेला समितिका मानिसलाई मात्र पूजा गर्न दिएको र अन्यलाई रोक लगाइएको छ । मन्दिर निकुञ्जभित्र रहेका कारण निकुञ्ज प्रशासनले मेला भर्न रोक लगाएको हो ।
नियमित पूजाको लागि १५ जनालाई मात्र प्रवेश गर्न दिइएको छ । उनीहरूले नै सोमवारका दिन पूजा गर्दै आएका छन् । दुग्धेश्वर महादेव मन्दिरमा लाग्ने मेला बन्द भएपछि जीतपुरसिमरा उपमहानगर अन्तर्गत सहजनाथ मन्दिर काँठघाटमा पूजा गर्नेहरूको भीड बढेको छ । मानिसहरू ट्याक्टर, साइकल, मोटरसाइकल, पैदल काँठघाटमा पूजा गर्न गएका थिए । भक्तजनहरूको भीड बढेसँगै सो क्षेत्रमा खानेकुरा, मिठाइ, खेलौनाहरूको व्यापार पनि बढेको छ ।
यसैगरी, तिथिले दोस्रो सोमवार वीरगंजको अलखियामठलगायतका शिवालयहरूमा भक्तजनहरूले पूजा आराधना गरेका छन् । त्यस्तै, पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा रहेका विभिन्न शिवालयमा पनि आज पूजा अर्चना भयो ।