• अनन्तकुमार लाल दास

गत वर्षदेखि कोरोना महामारीले विश्वलाई नै हल्लाएको छ । धेरैजसो देशमा आर्थिक मन्दीले गर्दा लाखौंले जागीर गुमाउनुपरेको छ । धेरै राष्ट्रहरूले यसलाई अवसर र चुनौतीको रूपमा ग्रहण गरी आर्थिक दर वृद्धि पनि गरेका छन् तर त्यहीं धेरैजसो अविकसित राष्ट्र यस महामारीलाई एकअर्कामाथि दोषारोपण गर्ने, आम जनमानसको बाध्यतालाई मुनाफाको माध्यम बनाउने धन्धामा लागेका छन् । नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा देखा परेका यावत समस्याहरूको कारक वर्तमान शिक्षा पद्धति बनेकोजस्तो लाग्दछ । किनभने हामीले हालसम्म अपवादबाहेक जागरुक, संवेदनशील, राष्ट्रभक्त, कर्मठ, इमानदार, जनसेवी, विवेकशील नागरिक, प्रशासक वा नेता तयार गर्न सकेका छैनौं । वर्तमान बजारमुखी शिक्षाले त झन् राष्ट्रलाई पलायनमुखी र स्वार्थी बनाएको छ ।

नेपालको संविधान २०७२ ले परिकल्पना गरेको ‘सुखी र समृद्ध नेपाल’ वर्तमान राजनीतिक अवस्था, सामाजिक सोच र यहाँको शैक्षिक अवस्थालाई हेर्दा सफल होलाजस्तो लाग्दैन । आज भ्रष्टाचार चरम सीमामा छ । नैतिकता कल्पनाको कुरो भएको छ । जो जहाँ छ, त्यहीं कसरी धनी बन्ने छोटो बाटो खोज्न व्यस्त छ । गरीब बेरोजगार, महँगी र भ्रष्टाचारको मारमा परेको छ । धनीहरू लक्ष्मीको कृपाले मालामाल भइरहेका छन् । गरीब झन् कङ्गाल बन्दै गएको छ र मध्यम वर्ग कर्जामा डुबेका छन् । यहींनिर प्रश्न उठ्छ यस्तो अवस्था कसरी सिर्जना भयो ?

अपवादबाहेक हाम्रो शिक्षा पद्धतिले जागीरे बनाउने, आप्mनो दुनो सोझो भएन भने आन्दोलन गर्ने, निर्देशन दिनु मात्र आफ्नो दायित्व ठान्ने र नेताहरूको झोला बोक्नेबाहेक नागरिक जन्माउन सकिरहेको छैन । सङ्घीयतामा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई थुप्रै अधिकार प्रदान गरिएको छ तर त्यसको कार्यान्वन फितलो देखिएको छ । आज पनि सङ्घीयता संविधानमा सीमित छ र सङ्घको वर्चस्व कार्यान्वयनमा छ । कोरोना महामारीको बेला भीड जुटाएर भए पनि राजस्व अनुमानभन्दा बढी सङ्कलन भइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारको बजेट वृद्धि भएको छ । कोरोना महामारीमा पनि आम मानिसले एक अर्कालाई सक्दो सहयोग गरिरहेका छन् तर पनि हालसम्म वर्तमान सरकार वा स्थानीय सरकारले भाषण बाहेक आफ्नो नागरिकलाई खोपको सुरक्षा प्रदान गर्न नसकेको सबै सामु छर्लङ्ग छ ।

अर्कोतिर वैशाखदेखि विद्यालयहरू बन्द छन् । विद्यालयहरू कहिले खुल्ने अन्योल नै छ । विद्यालय बन्द हुनुको कारण हाम्रो खुला सिमाना, भीडभाड गर्ने प्रवृत्ति र कोरोनालाई देखाइएको छ । सीमा अहिले पनि बन्द छ तर आवतजावतमा कुनै कमी देखिएको छैन । जिल्ला प्रशासन कार्यालय, मालपोत, यातायात र महानगरपालिको कार्यालय समेतले भीड नियन्त्रण गर्न नसकेको अवस्था छ । लामो दूरीको सवारीसाधन बन्द छ तर निर्बाधरूपले बढी भाडा लिई चलि नै रहेको छ । जे बन्द भनिएको छ त्यो कागजमा मात्रै बन्द छ । भीडभाड गर्न निषेध छ तर दिनहुँ बाजारमा भीड भइरहेको छ । वीरगंजको सन्दर्भमा कोरोनाबाट ग्रसित हुनेहरूको सङ्ख्या निकै कम छ । मास्कको अनिवार्यता कायमै रहे पनि धेरैले मास्क लगाउन छोडिसकेका छन् । त्यसैगरी विद्यालयहरू बन्द छन् तर धेरै विद्यालय लुकीछिपी चलि नै रहेका छन् । प्रशासन र सम्बन्धित निकाय किन मौन छ ?

गाउँदेखि सदरमुकामसम्म आवतजावतमा कुनै रोक छैन । विद्यालयमा पढ्ने केटाकेटीहरू पनि दिनभरि सडकमा भौंतारिरहेका छन् । अभिभावकहरूले पनि उनीहरूलाई नियन्त्रण गर्न सकिरहेका छैनन् । बुवाहरू हातमुख जोड्ने समस्यामैं व्यस्त छन् र आमासँग घरेलु कामको बोझ छ । यस परिवेशमा बिचरा विद्यार्थीहरूले के गर्ने, किनभने विद्यालय त बन्द छ । के विद्यार्थीहरू घरमा सुरक्षित छन् ? छेउकै बारा जिल्लामा विद्यालयहरू खुलिसकेको छ । त्यहाँका विद्यार्थीहरू पढ्न व्यस्त छन् र पर्साका धेरैजसो विद्यार्थीहरू जोसँग अनलाइन पढ्ने साधन छैन घुम्नमा मस्त छन् । यति मात्र कहाँ हो र, सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढ्ने कतिपय विद्यार्थीहरू पनि अनलाइन शिक्षा लिइरहेका छन् तर नेपाली माध्यममा पढ्ने विद्यार्थी टुलुटुलु हेरिरहेका छन् । हामी यो के सिकाइरहेका छौं ? संस्थागत विद्यालय जो आपूmलाई उच्च श्रेणीका विद्यालय भन्छन्, उनीहरूमध्ये पनि धेरैले लुकीछिपी विद्यालय पोशाकबेगर कक्षा सञ्चालन गरेका छन् । उनीहरूले पनि विद्यार्थीहरूलाई के सिकाइरहेका छन् ?

यी यस्ता गम्भीर प्रश्नहरू हुन् जसको जवाफ खोज्नु सबैको लागि आवश्यक छ । संविधान र कानूनभन्दा माथि कोही छैन । यस परिस्थितिमा यदि विद्यालयले कानूनको पालना र त्यसको सम्मान गर्दैन भने ससाना बालबालिकाहरूले के सिक्छन् भन्ने कुरा सोचनीय र मननीय छ । सार्वजनिक ठाउँमा हुने भीडभाडबाट केटाकेटीहरूले के सिक्छन् ? प्रशासनको यस्तो लाचारीबाट के सिक्छन् ? महानगरपालिकामा भइरहेको भ्रष्टाचारबाट केटाकेटीहरूले के सिक्छन् ? यी यावत यस्ता कुरा हुन् जसमाथि खुला बहस हुनु आवश्यक छ ।

यस्ता कुराले विद्यार्थीहरूलाई सकारात्मक बाटोतिर नलागी नकारात्मक बाटोमा हिंड्न प्रेरित गर्छ । उनीहरूभित्र पनि उच्छृङ्खलता उत्पन्न हुन्छ । उनीहरू पनि ठूलो भएपछि त्यही गर्छन् जो उनले आफूभन्दा ठूलाले गरेको देखेका छन् । यसमा बेलैमा बिराम लगाउन जरूरी छ किनभने आजको बालबालिकाहरू नै भोलि देशको भविष्य बन्नेछन् । आज हामी सबैले आत्म–मूल्याङ्कन गरी आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक छ । यदि हामी आफ्ना सन्तानको भविष्यको लागि चिन्तित छौं भने एकपटक यस कुरोलाई पनि गहनतापूर्वक विचार गर्नु आवश्यक छ ।

ध्यान दिनुपर्ने अर्को कुरा के हो भने विद्यार्थीहरू घरभन्दा बढी सुरक्षित विद्यालयमा हुन्छन् किनभने त्यहाँ स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरिन्छ र गराइन्छ । यद्यपि यस्तो गर्ने विद्यालय गत वर्ष थोरै भेटिएका थिए । अधिकांश विद्यालयले स्वास्थ्य मापदण्ड पालना हुन नसकेको कारणहरूमा सम्बन्धित निकायले चाहिएजति सहयोग नगरेको, अर्थको अभाव, केहीले फी नउठेको, केहीले साधनस्रोत नभएको बताएका थिए । यस कारणले पनि हुन सक्छ विद्यालय हालसम्म खुलेको छैन । अनलाइन कक्षा सञ्चालनमा कुनै अवरोध पु¥याइएको छैन तर यो अधिकांशको पहुँचमा छैन । कतिले त चाहेर पनि आर्थिक अभावले गर्दा अनलाइन शिक्षा लिन सकिरहेका छैनन् ।

आजका बालबालिकाले नै भोलिको देश बनाउने हो । उनीहरूमाथि नै नेपालको भविष्य निर्भर छ । आज उनीहरूले जे सिक्छन् भोलि त्यही गर्ने हो । यस अर्थमा उनीहरूको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षकहरूको काँधमा भएको हुनाले सबैभन्दा पहिले शिक्षकहरूलाई खोपको सुरक्षा प्रदान गर्नुपर्ने हो, तर जति गुहार लगाउँदा पनि, भाषणबाहेक यस गम्भीर विषयमा ध्यान दिइएको छैन । भाषण र निर्देशन मात्र दिएर केटाकेटीहरूलाई जोगाउन सकिंदैन । उनीहरूलाई जोगाउन सबैले आप्mनो व्यवहारमा परिवर्तन र नीतिगत कार्यान्वयनमा ध्यान दिनुपर्छ, किनभने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिनहुँ सबैलाई सचेत तथा संवेदनशील हुन अनुरोध गरिराख्दा पनि हामी सचेत हुन सकिरहेका छैनौं ।

आज तमाम कार्य–व्यापार खुला भइसक्दा पनि विद्यालय नखोल्नुको कुनै अर्थ रहँदैन । उत्सुक विद्यार्थीहरूलाई घरमैं कैद गर्नु न्यायसङ्गत पनि होइन । संविधान प्रदत्त बाल अधिकार खोस्नु उचित पनि हैन । उनीहरूले हामीले के गरिराखेका छौं भन्ने कुरो गम्भीरतापूर्वक हेरिरहेका छन्, सुनिरहेका छन् र सिकि पनि रहेका छन् । यस स्थितिमा यदि हामीले उनीहरूलाई सकारात्मक दिशा प्रदान गर्न सकेनौं भने देश कहिल्यै उँभो लाग्ने छैन । दिगो विकास भनेको आउने सन्ततिको भविष्यलाई ध्यानमा राखेर गरिने विकास हो । तसर्थ कुनै पनि निर्णय लिंदा सबैभन्दा पहिले उनीहरूको भविष्यको ख्याल गर्नुपर्छ । यदि विद्यालय खुल्छ भने उनीहरू सजिलै जोगिन्छन् । हो, विद्यालय खोल्नुपूर्व सरोकार पक्ष्Fलाई राखेर व्यापक बहस गरी सोही अनुसार तयारी गर्नुपर्छ । यसमा हेलचेक्र्याइँ हुनुहुँदैन ।

विद्यालयसँग लाखौं शिक्षक–कर्मचारीको भविष्य जोडिएको छ । सामुदायिक विद्यालयमा काम गर्ने शिक्षक–कर्मचारीलाई सरकारले लकडाउन अवधिको तलब दिएकै छ तर संस्थागत विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीले हालसम्म तलब नपाएको अवस्था छ किनभने अपवादबाहेक अभिभावकले विद्यालयको शुल्क तिरेका छैनन् । कतिपय सङ्गठन लकडाउन अवधिको शुल्क नलिन आन्दोलनरत छन् । यस परिवेशमा गत वर्षझैं यसपटक पनि शिक्षक–कर्मचारीहरूले तलब पाउँछन् कि पाउँदैनन् अन्योल छ । केन्द्र र स्थानीय सरकारले यसतर्पm विशेष ध्यान दिनुपर्ने हुन्छ किनभने संस्थागत विद्यालयका शिक्षक–कर्मचारीहरू पनि यसै देशका नागरिक हुन् र यस देशको भविष्य उनीहरूले पनि निर्माण गरिराखेका छन् ।

आज कोरोना महामारीसँगै विद्यार्थीहरूको भविष्य जोगाउनु सबैभन्दा बढी आवश्यक छ । विकल्पहरू पनि छन् तर जबसम्म शिक्षा सबैको प्राथमिकताको विषय बन्दैन, तबसम्म कुनै पनि विकल्प काम लाग्दैन । यसतर्पm शिक्षा नीति निर्माताहरूले विशेष ध्यान दिनैपर्छ । हामी सबैले आआप्mनो स्वार्थ त्यागेर गम्भीर भई यसबारे सोच्नैपर्छ अनि मात्र राष्ट्रको भविष्य, केटाकेटीहरूलाई जोगाउन सकिन्छ । ध्यान दिनुपर्ने कुरो के हो भने हामीले गर्ने हरेक क्रियाकलापबाट केटाकेटीहरूले प्रत्यक्ष–अप्रत्यक्ष धेरै कुरा सिकिरहेका छन् र सोही अनुरूप आप्mनो चरित्र पनि निर्माण गरिरहेका छन् । तसर्थ ध्यान दिनुपर्ने कुरो के हो भने हामी उनीहरूलाई के सिकाइरहेका छौं ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here