- सम्पादकीय
विकास स्वयम् केही होइन । विकास हुनका लागि आवश्यकता–बोध, प्रवृत्ति र समन्वय मुख्य कुरा हो । सरकारले एकपटक देशलाई खुला दिसामुक्त बनाउनका लागि न्वारानदेखिको बल लगायो, तमाम कोशिश ग-यो । धेरै ठाउँमा सित्तै, धेरै ठाउँमा अनुदान दिएर, ऋण व्यवस्था गरेर शौचालय बनाउने काम ग-यो । तर जसका लागि यी परिभ्राट गरियो, उसलाई आवश्यकता–बोध नै थिएन, उसमा शौचालय प्रयोग गर्ने प्रवृत्तिको विकास नै भएको थिएन ।
यहाँ समन्वयका लागि स्थान नै थिएन । तर सडक निर्माण भने सबैको आवश्यकताको कुरा हो, सडक विकास होस् भन्ने प्रवृत्ति पनि छ, तर समन्वय छैन । खासगरी पर्सा जिल्लामा सडकको बीचमा परेका बिजुलीका पोलहरू यथास्थानमा राखी कङ्क्रिटिङ वा कालोपत्रे गर्ने काम गरिएको छ । यसले निश्चय नै दुर्घटना निम्त्याउँछ । सम्बन्धित विद्युत् कार्यालयको अन्तहीन प्रक्रिया छ, सडकबाट पोल हटाउनका लागि । ठेकेदारलाई समयमा काम सिध्याउने हतारो छ, जुन स्वाभाविक हो । जनताविशेषलाई राम्रो, चिल्लो सडकमा हिंड्ने, सवारी कुदाउने हतारो छ । तर सडकबीचमा परेको पोल हटाउने हतारो न विद्युत् प्राधिकरणलाई छ, न प्रशासनले तदारूकता, न सरकारको ठाडो आदेश नै छ ।
कुन काम गर्दा कस्ता–कस्ता समस्या आइलाग्छ, त्यसबारे जानकारी नराख्नु प्रवृत्तिगत कमजोरी हो । यो हामी नेपालीमा सामान्य पाइन्छ । सडक वा अन्य कुनै निर्माण गर्नुप¥यो भने कार्यान्वयनमा आइपर्ने कठिनाइबारे समयपूर्व सोच्नु पहिलो दायित्व हो, पहिले सोच्न नसकिएको ठाउँमा त्वरित एक्शन लिनु दोस्रो दायित्व हो । त्वरित एक्शन एउटा निकायले लिन सकेन भने अर्को सम्बद्ध निकायले त्यसमा हात हाल्न पाउनु प्रवृत्तिगत विशेषता हो । तर यहाँ त कुनै सरकारी निकायले नै गर्न लागेको काममा अर्को निकायले सहयोग र समन्वय देखाउँदैन । एउटा ठेकेदारले गर्न लागेको कामप्रति चासो देखाएर किन कोहीले आफूलाई तल पार्ने ? हो, हामी नेपाली अरूलाई सहयोग गर्नु आफूलाई आफैंले तल पारेको ठान्छौं ।
सडक जनताका लागि, उपभोक्ता जनता, लगानी सरकारकै तर सरकार मातहतको निकाय विद्युत् निकाय सहयोग गर्न तदारूक हुँदैन । त्यो पोल नहटाए सडक बन्दै नबन्ने त होइन । पोल पनि एक दिन त हटाउनै पर्छ । तर काममा अल्झो बनाइदिएबापत सम्बन्धित व्यक्ति आलोचनाको होइन, स्याबासीको हकदार बन्छ । यो नै नेपालको विकास निर्माण कामको सबैभन्दा ठूलो तगारो हो ।
साधन–स्रोत र अवसरले मात्र विकास र उन्नति हुने होइन । हो, साधन–स्रोत र अवसर माध्यम अवश्य हो । यसले कामलाई गति दिन्छ । तर जबसम्म प्रवृत्ति र समन्वयको अभाव रहन्छस देश, समाज वा व्यक्तिको उन्नति कदापि सम्भव छैन । प्रवृत्ति स्वतः उम्रेको छ भने अति उत्तम, अन्यथा उमार्नुपर्छ । सरकारले बाध्य पार्नुपर्छ, आफ्ना निकायहरू, नागरिकको प्रवृत्तिमा परिवर्तन ल्याउन । हेर्दाहेर्दै चीनले विकासको चुचुरो छोइसक्यो । द. कोरियाले विश्वमा नाम दरिनेगरी विकासको फड्को मा¥यो । एउटा दिन थियो, धेरै पनि भएको छैन, मात्र ५० वर्ष पहिले, यी देशहरू नेपालको हाराहारी अवस्थामा थिए । त्यहाँ रातारात उन्नति प्रवृत्तिलाई जबरजस्ती सुधारको बाटोमा ल्याएर भएको हो । काम नगर्ने, समन्वय नगर्ने सरकारी प्रवृत्तिमा सुधार आउन सकेको छैन, नागरिकको के भनेर सुधार हुने ?