प्रस, ठोरी, १७ साउन/
ठोरी गाउँपालिकाको छैटौं गाउँसभा आइतवार सम्पन्न भएको छ । गत असार ३१ गते शुरू भएको सभामा अघिल्लो आर्थिक वर्षमा प्रस्तुत भएको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै बहुमत गाउँसभाले विरोध जनाएपछि स्थगित भएको सभा आइतवार सम्पन्न भएको हो ।
गाउँकार्यपालिका कार्यालय घ्याङडाँडामा सम्पन्न सभाले आर्थिक वर्ष २०७८/७९ का लागि ४७ करोड ७० लाख ७२ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गापा अध्यक्ष पद्मलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन विधेयक प्रस्तुत गर्दै गापा उपाध्यक्ष शान्तिमाया थिङले चालूतर्फ ६ करोड ९४ लाख ५३ हजार र पूँजीगततर्फ ४० करोड ७६ लाख १९ हजार बजेट पेश गरेकी थिइन् ।
छैटौं गाउँसभामा शिक्षा, स्वास्थ्य, यातायात, भौतिक निर्माण, सिंचाइ, पर्यटन, खानेपानीलगायतलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको थियो । बजेटले ठोरीका सामुदायिक विद्यालयमा कार्यरत सबै बालविकास सहयोगी, कार्यालय सहयोगी, कार्यालय सहायक र स्वयंसेवक शिक्षकको तलबमा कम्तीमा २ हजारदेखि २३३ प्रतिशतसम्म वृद्धि गरेको छ ।
गापामा कक्षा ५ सम्म सञ्चालित आधारभूत तहको विद्यालयमा मासिक ४ हजार ५ सय तलबमा कार्यरत कार्यालय सहयोगीको तलबमा २३३ प्रतिशत वृद्धि गर्दै रु १५ हजार पुगेको छ भने कक्षा ८ सञ्चालित आधारभूत र माध्यमिक विद्यालयको कार्यालय सहयोगीको तलब दोब्बर वृद्धि भएर १५ हजार पुगेको छ । यस्तै, गाउँसभाले ठोरीका सबै सामुदायिक विद्यालयमा सङ्घीय र गापाको अनुदानमा कार्यरत बालविकास सहजकर्ताहरूको तलब वृद्धि गर्दै १५ हजार पु¥याएको छ । सभाले गापाको अनुदानमा कार्यरत २१ जना सहजकर्ताहरूको तलबमा मासिक रु ९ हजार र सङ्घीय अनुदानमा कार्यरत सहजकर्ताहरूको तलबमा मासिक रु ७ हजार वृद्धि गरेर सरकारले लागू गरेको न्यूनतम मासिक तलब रु १५ हजार पु-याएको हो ।
यस्तै, ठोरीका सबै विद्यालयका कार्यालय सहायकको तलब रु १७ हजार तथा गापाको अनुदानमा कार्यरत १३ जना स्वयंसेवक शिक्षकहरूको तलबमा मासिक रु २ हजार थप गरिएको छ । पालिकाले टोलटोलमा सिकाइ सहजीकरणका लागि नियुक्त गरेको घरदैलो स्वयंसेवकको तलबमा पनि मासिक रु २ हजार वृद्धि गरेको छ ।
यस्तै, उपाध्यक्ष थिङले आगामी आर्थिक वर्षमा सीता गुफामा मूर्ति स्थापना र अन्य व्यवस्थापनका लागि रु १५ लाख, बाघमोर्चा मन्दिरवरपर पार्क निर्माण तथा मूर्ति खरीदका लागि रु १५ लाख, शववाहन खरीदका लागि रु १५ लाख, ठोरी गापा–३ मा आइटी कलेज स्थापनाका लागि रु २ करोड ४९ लाख, इच्छानगर जाने बाटोमा ठुटेखोला, सालघारी र ढेडुखोलामा झोलुङ्गे पुल स्थापनाका लागि रु ३६ लाख, पालिकाभित्रका विभिन्न ठाउँमा निश्शुल्क वाइफाईका लागि रु १० लाख बजेट प्रस्तुत गरेकी थिइन् ।
सभामा प्रस्तुत विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको अध्यक्ष श्रेष्ठले बताए ।