प्रस, वीरगंज, १७ साउन/
भवानी अस्पताल वीरगंजका चिकित्सक र नर्समाथि हातपात गरेको कसूरमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगर–२० मनियारी निवासी ३८ वर्षीया रमिता देवीको मृत्युको विषयलाई लिएर चिकित्सक डा विजय महतो र नर्स बबिता चौधरीमाथि हातपात गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको हो । भवानी अस्पतालमा आइतवार बिहान ११ बजे रमिता देवीलाई उपचारको लागि ल्याइएको थियो । उपचारको क्रममा आधा घण्टापछि उनलाई मृत घोषित गरिएको थियो ।
परिवारजनले शव बुझेर लगेका थिए । तर १ः३० बजे पुनः उनी जीवित भएको भन्दै परिवारजनले सोही अस्पतालमा उपचार गर्न ल्याएका थिए ।
अस्पतालले पुनः रमिता देवीलाई मृत घोषित गरेपछि उनका परिवारजन, आफन्तजनले चिकित्सक र नर्समाथि हातपात गरेको बुझिन आएको छ । अस्पतालले शुरूमैं मृत घोषित गरेको व्यक्तिलाई पछि जीवित दाबी गर्दै ल्याएको भएपनि मृत नै घोषित गरेपछि परिवारजन आक्रोशित भएका थिए ।