राजविराज, १७ साउन/रासस
नगरवासीको चाहना र सपनाका रूपमा लामो समयदेखि बसपार्क निर्माणमा ढिलासुस्ती हुँदा अलपत्र परेको छ । सप्तरीको राजविराजस्थित राजदेवी टोलमा रहेको व्यवस्थित बसपार्क निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन ।
निर्माण कार्यको समयावधिसमेत समाप्त भएको सात महीना बितिसकेको बताइएको छ । शहरी विकास मन्त्रालयबाट रु १६ करोड ३८ लाख ९६ हजार ५१९ मा काम गर्ने ठेक्का पाएको काठमाडौंको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालिले उक्त बसपार्क निर्माणको लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले २०७७ पुस १८ गतेभित्र बसपार्क निर्माण गरिसक्नुपर्ने समय निर्धारण गरिएको थियो । सुस्तगतिमा काम गर्दा म्याद सकिएको सात महीनाभन्दा बढी भइसक्दा पनि ५० प्रतिशत काम मात्र भएको पाइएको छ ।
निर्माण कम्पनीले कहिले कोरोनाको बहाना, निर्माण सामग्रीको अभाव तथा मन्त्रालयबाट समयमैं रकम निकासा नपाएको भन्दै निर्माण कार्यप्रति आलटाल गरिरहेको राजदेवी टोलका चन्दन यादवको भनाइ छ । बसपार्क समयमा निर्माण नहँुदा यहाँका रूपनी सडक, गजेन्द्रचोक, नेता चोक, कुनौली मोड, राममन्दिर मोड र सखडा रोडलगायतका स्थानबाट अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा छन् ।
राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादवले विभिन्न कारणले समयमा निर्माण कार्य सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीलाई पटक–पटक सचेत गराइएको जानकारी दिंदै अब पनि ढिलाइ गरे ठेक्का रद्द प्रक्रिया अघि बढाउन पहल गरिने बताए ।