प्रस, गरुडा, १४ साउन/
विकास–निर्माण तथा सुविधा र सेवाको दृष्टिले रौतहटको कटहरिया नगरपालिकाले सर्वसाधारणलाई सङ्घीयता र स्थानीय सरकारको अनुभूति दिलाउन थालेको देखिएको छ । अत्यन्त तीव्र अन्तर्विरोध तथा व्यवधानका बीच कटहरिया नगरपालिकाको पहिलो जननिर्वाचित सरकारले सर्वसाधारणका निम्ति धेरै सकारात्मक काम गर्न सफ्ल भएको देखिएको छ ।
एकै दिन छ सय परिवारलाई ग्याँस भरिएको सिलिन्डर, ग्याँस चुल्हो, रेगुलेटर र पाइपसमेत कटहरिया नगरपालिकाले प्रदान गरेको छ । निर्वाचन क्षेत्रका सम्पूर्ण घरपरिवारलाई सिलिन्डर प्रदान गर्ने पूर्वमन्त्री प्रभु साहको योजनामा कटहरिया नगरपालिकाले पनि सहयोग गर्दै आएको छ ।
गत वर्ष पनि सयौं परिवारलाई कटहरिया नगरपालिका (कनपा)ले निश्शुल्क सिलिन्डरसहित सामग्री उपलब्ध गराएको थियो ।
अब कटहरिया नगरपालिका धूवाँमुक्त भान्छाघर हुने क्रममा रहेको छ । महिलाको हकमा यो अत्यन्त राम्रो काम भएको भनी प्रशंसा हुन थालेको छ ।
नगर प्रमुख सियाराम कुशवाहाले कनपालाई फ्री वाइफई जोन बनाउने अभियान शुरू गरेका छन्। नौ वडा रहेको कनपाको प्रत्येक वडामा पहिलो चरणमा पाँच ठाउँ गरी ४५ ठाउँमा राउटर जडान गरिएको छ । फ्री वाइफईले युवा, विद्यार्थी तथा व्यावसायीलाई फइदा पुग्ने मेयर सियाराम कुशवाहाको भनाइ छ ।
कनपाका किसानहरूलाई सुविधा दिन पछिल्लो नगर परिषद्बाट कृषि मिटरको सम्पूर्ण बिल नपाले तिर्ने निर्णय गरेको छ । यसले नगरको कृषि उपजमा सकारात्मक योगदान पुग्ने विश्वास रहेको छ ।
शिक्षामा सुधार गर्न माध्यमिक विद्यालय थप्ने, विद्यालय भवन बनाउने तथा आन्तरिक स्रोतबाट बेहोर्नेगरी शिक्षक दरबन्दी सिर्जना गर्ने काम कनपाले गरेको छ । चालू शैक्षिक सत्रदेखि नै लागू हुने गरी कनपामा थप दुई माध्यमिक विद्यालय सञ्चालनमा आउँदैछन् । यस अघि तीन माध्यमिक विद्यालय रहेको कनपामा अब पहुँच भएको छ ।
हरेक वडामा बाह्रै महीना एम्बुलेन्स पुग्ने भइसकेको छ ।
सडक सञ्जालले कनपाका हरेक गाउँ जोडिएको छ । मूल बजार कटहरियामा भव्य विवाह भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्लाकै पहिलो आधुनिक विवाह भवन निर्माण भएपछि कटहरिया बजारको प्रतिष्ठामा वृद्धि हुने देखिएको छ ।
खसीको मासुको विशिष्ट परिकार कटिको उद्गमस्थल कटहरिया बजारलाई ‘कटिया हब’को रूपमा विकास गर्न कनपाले विशेष कार्यक्रम ल्याएको छ । देशको विभिन्न भागमा पुगिसकेको ‘कटिया’को पहिचान स्थापित गर्न विशेष योजना बनाइएको मेयर कुशवाहाको भनाइ छ ।
कनपाको पहिलो मेयरको रूपमा निर्वाचित भएको केही समयपछि जेल परेका र एकचोटि पार्टी परिवर्तन गरेको आरोपमा निलम्बनमा समेत परेका अत्यन्त सक्रिय युवा मेयर कुशवाहाले कम समयमा धेरै प्रगतिशील काम गरेर नगरको चौतफर््ी विकासमा विशेष योगदान गरेको स्थानीयको भनाइ छ । समयक्रममा चुनावी वाचाहरू पूरा गरेको र अपेक्षाभन्दा अझ बढी काम कनपाले गरेको स्थानीयको भनाइ छ ।