नयाँ दिल्ली, १५ साउन/एएनआई
भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरि ४४ हजार २३० जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्रमित अवस्थामैं रहेका जनाएको छ । सङ्क्रमित अवस्थामैं रहेकाहरूको यो सङ्ख्या कुल सङ्क्रमित सङ्ख्याको १.२८ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
भारतमा अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १५ लाख ७२ हजार ३४४ रहेको छ । ती मध्ये ४२ हजार ३६० जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।
एकै दिनमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकोले अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या अघिल्लो दिनभन्दा बढी भएको छ ।
भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म चार लाख २३ हजार २१७ जनाको मृत्यु भएको छ । तीमध्ये ५५५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ४६ करोड ४६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४५ करोड ६० लाखलाई कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग
कोरोना भाइरसको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतलाई विश्वका ५२ देशले सहयोग गरेको पाइएको छ ।
भारतलाई ती देशहरूले स्वास्थ्य सामग्री, उपकरणसहित विभिन्न स्रोतसाधन सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए । महामारी फ्ैलिएपछि विभिन्न अभाव र समस्या भएको भारतलाई ती देशहरूको सहयोगकै कारण महामारी व्यवस्थापन गर्न सजिलो भएको थियो ।
शुरूमा विभिन्न अभाव र समस्या भए पनि आन्तरिक स्रोत व्यवस्थापन र वैदेशिक स्रोत र सहयोग प्राप्त भएपछि सजिलो भएको अधिकारीहरूले जनाएका छन् ।
राष्ट्रियसभाको बैठकमा विदेश मामिला राज्यमन्त्री भी मुरलीधरनले मित्र राष्ट्रहरूको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । “दोस्रो चरणको महामारी चलिरहेको बेला हामीलाई धेरै मित्र राष्ट्रहरूले खुलेर सहयोग गर्नुभयो, सहानुभूति देखाउनुभयो, हामी उहाँहरूप्रति आभारी छौं, धन्यवाद दिन चाहन्छौं”– उनले भने ।
विशेषगरी विदेशी दाताहरूले दिएको उपकरण, औषधि, खोपलगायत स्वास्थ्य सामग्रीले ठूलो राहत पुगेको उनले बताए । “आजको दिनसम्म हामीलाई ५२ देशले विभिन्न सहयोग दिएको देखिएको छ ।
उनीहरूले सरकारबाट सरकारलाई, संस्थाबाट संस्थालाई, कम्पनीबाट कम्पनीलाई वा व्यक्तिबाट व्यक्तिलाई पनि सहयोग गरेको पाइएको छ”–विदेश राज्यमन्त्री मुरलीधरनले भने । रासस