प्रस, परवानीपुर, १४ साउन/

भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा श्रेस्ता तथा मोठको विवरण कम्प्युटर प्रणालीमा अद्यावधिक गर्न श्रेस्ताको फोटो खिंचेर अनलाइन सर्भरमा राख्न ढिलाइ भइरहेको छ ।

विभागले काममा खटाएको पिज जिओकम–स्पिड जेभीका कर्मचारीहरूको लापरवाहीले गर्दा यो काममा ढिलाइ भइरहेको हो । आव २०७७–०७८ मा काम सम्पन्न गर्नुपर्ने ठेकेदार कम्पनी पिज जिओकम–स्पिड जेभीले सम्झौता गरे तापनि निर्धारित समयमा काम गर्न नसकेर ढिलाइ भइरहेको हो । यो कामको लागि सरकारले च्यातिएको तथा झुरी परिसकेको श्रेस्ता मठहरूको रेकर्ड राख्न र आगामी दिनमा अनलाइन प्रविधिबाट छिटोछरितो काम गर्न यो प्रणाली प्रयोगमा ल्याइरहेको छ ।

गत असार १० गतेसम्म मालपोत कार्यालय, पर्सामा १५ वटा साबिक गाविसहरूको मोठ र श्रेस्ताको फोटो खिचेर अनलाइनमा राख्ने काम बाँकी रहेको, डाटाको पूर्णता तथा शुद्धता जाँच समितिको बैठकमा जानकारी गराइएको थियो ।

मालपोत कार्यालय, पर्साका निमित्त प्रमुख कमोद तिवारीका अनुसार त्यति बेलासम्म बहुअरी बि, सुगौली दाप, महादेवपट्टी, परसौनीबिर्ता, लखनपुर, अलौ, मसियानी, हरिहरपुर प., मुर्ली बी, परशुरामपुर, कौवा वनकटैया, भौराटार, लिपनीबिर्ता, नकटुवा बी, बैरियाबिर्ता दापु गरी १५ वटा गाविसको मोठ श्रेस्ता अद्यावधिक गर्ने काम बाँकी थियो ।

मालपोत कार्यालय, पर्साको तत्कालीन ८२ वटा गाविसलाई हालको १४ वटा पालिकाको संरचनामा ९६ वटा मोठ ठेलीमध्ये ८१ वटा गाविसको मोठको फोटो खिच्ने काम भइसकेको र बाँकी १५ वटा गाविसको बाँकी रहेको बताइएको छ ।

यस विषयमा फोटो खिच्ने ठेक्का लिएको ठेकेदार कम्पनी पिज जिओकम–स्पिड जेभीका कम्प्युटर अपरेटर अमरनाथ राउतका अनुसार १५ वटामा करीब आधा गाविसको काम सम्पन्न भइसकेको र करीब एक दर्जन गाविसहरूको मोठ श्रेस्ताको काम बाँकी छ । उनका अनुसार बाँकी रहेको १५ वटामध्ये महादेवपट्टी, लिपनीबिर्ता, परशुरामपुर, परसौनी, लखनपुर, नकटुवा बी, हरिहरपुर बी, कौवा वनकटैयाको काम साउन १० गतेसम्म भइसकेको र बाँकी काम पनि अन्तिम चरणमा रहेको बताए ।

प्राविधिकले भिजाए २० वटा मोठ ठेली

फोटो खिचेर अनलाइनमा अपडेट गर्ने काममा संलग्न प्राविधिकहरूको लापरवाहीको कारण भूमिसुधार तथा मालपोत कार्यालय अन्तर्गतको विभिन्न गाविस तथा वीरगंज महानगरपालिकाको वडाको २० भन्दा बढी श्रेस्ता मोठ ठेली पानीले भिजेको पत्ता लागेको छ ।

मालपोत कार्यालय, स्रोतका अनुसार गत असार पहिलो साता परेको अविरल वर्षाले मालपोत हाकिम बस्ने भवनको तेस्रो तल्लामा पानी पसेर २० वटा ठेली पानीले भिजेर नष्ट भएको छ ।
पानीले भिज्दा श्रेस्तामा लेखिएका विवरण सबै गलेको छ भने जग्गाधनीको फोटोसमेत पनि गलेको बताइएको छ ।

यस विषयमा फोटो खिच्ने प्राविधिक समूहका कम्प्युटर अपरेटर अमरनाथ राउतसँग बुझ्दा उनले राति सुतेको बेला कोठामा पानी पसेको हुँदा श्रेस्ता भिजेको बताए । साथै उनले आफू आउनुभन्दा अघि प्राविधिकहरूले लापरवाही गरेको बताए ।

मालपोत कार्यालय, पर्साका निमित्त प्रमुख तिवारीले भिजेको मोठ ठेलीको विवरण कम्प्युटरमा अद्यावधिक गरिसकेकोले नयाँ श्रेस्ता गणना गर्न समस्या नहुने । तर जग्गाधनीले तत्कालै श्रेस्ता भिडाउन वा रेकर्ड राख्न भन्दा अप्ठेरो पर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here