प्रस, वीरगंज, १४ साउन/
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख कुशियैत यादवले अनधिकृतरूपमा बिजुलीको पोलमा जडान गरिएको तार, होडिङबोर्डहरू हटाउने बताएका छन् ।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, व्यवस्थित वीरगंज अभियानका अध्यक्ष दिलीपराज कार्की, इम्प्रोडिङ वीरगंज क्लबका सरन गुप्ता, स्वतन्त्र युवा समाजका रवि वर्णवाल, त्रिलोकी दारूकालगायतले अनधिकृतरूपमा बिजुलीको पोलमा केबुल नेट, इन्टरनेटका तार र विभिन्न संस्थाका होडिङबोर्डहरू राखिएको र त्यसबाट आगलागीको वारदात बढेको भन्दै ध्यानाकर्षण गराउँदा प्रमुख यादवले सो कुरा बताएका हुन् ।
टोलीले बुधवार वीरगंज महानगरपालिका –१५ प्रतिमाचोकमा बिजुलीको पोलमा अव्यवस्थित तरीका जडान गरिएको केबुल, नेटको तारको कारण आगलागी भएको र आगामी दिनमा त्यस प्रकारको दुर्घटना नहोस् भनी ध्यानाकर्षण गराइएको व्यवस्थित वीरगंज अभियानका अध्यक्ष कार्कीले बताए ।
सो क्रममा प्रमुख यादवले दुर्घटना नहोस् भनेर आगामी दिनका लागि तयारी गरिएको र अनधिकृत जडान गरिएका तार, बोर्ड हटाउने आश्वासन दिएको कार्कीले बताए ।
ग्रीनसिटीले यस अघि आदर्शनगर क्षेत्रमा नेट, केबुल तार सफाइ अभियान चलाएको थियो । यसैगरी माईस्थान, घण्टाघर क्षेत्रमा अहिले पनि जथाभावी तार लत्रिएर शहरलाई कुरूप त बनाएकै छ, दुर्घटनालाई पनि निम्तो दिइरहेको छ ।