प्रस, वीरगंज, १४ साउन/
काठमाडौंबाट वीरगंजमा लाइसेन्स नवीकरणका लागि आएका एक युवकको बिहीवार बिहान रहस्यमय तरीकाले मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका–७ रामटोलमा अचेत अवस्थामा भेटिएका युवकको हत्या भएको प्रहरीले आशङ्का गरेको छ ।
काठमाडौं महानगरपालिका गङ्गबु बस्ने २७ वर्षीय सुजन पाख्रिन लाइसेन्स नवीकरण गर्न वीरगंज आएका र गएराति अबेरसम्म वीरगंजमा साथीहरूसँग बसी बीयर खाएको अपुग भयो भन्दै बीयर लिन निस्केका पाख्रिन लामो समयसम्म नआएपछि खोज्दै जाँदा गम्भीर घाइते अवस्थामा आज बिहान ३ बजे सडकमा फेला परेका थिए ।
घटनापछि तत्काल साथीहरूले नै प्रहरीलाई फोन गरी उपचारका लागि नारायणी अस्पताल लगेकोमा अस्पतालले युवकलाई मृत घोषणा गरेको छ । युवकको मृत्युपछि प्रहरीले अनुसन्धानका लागि मृतकका ६ जना साथीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले काठमाडौं टोखा नगरपालिका –२५ निवासी मनोज कार्की, मकवानपुरका २८ वर्षीय कुमार सिंह पाख्रिन, वीरगंज महानगरपालिका–७ का २७ वर्षीय विक्की लामा, २२ वर्षीय विक्की साह, बारा फेटा गाउँपालिका–३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले बताए ।
प्रहरीले घटनास्थलबाट बा २ ज ५७८५ नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ ।
मृतक पाख्रिनको घाँटीमा नील डाम देखिएको र उनले सिक्री, औंठीलगायत ८/१० तोला सुनको गहना समेत लगाएकोमा घटनास्थलमा फेला नपरेकोले उनको हत्या लुटपाटका लागि भएको हुन सक्ने अनुमान गरिएको छ ।