साओ पाओलो १४ साउन/सिन्ह्वा

ब्रजीलमा कोभिड–१९ बाट हुने मृत्यु अझै घट्न सकेको छैन । यहाँका अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड–१९ बाट धेरै प्रभावित देशहरूको सूचीमा रहेको ब्रजीलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्रजीलमा बुधवार मात्र पछिल्लो २४ घण्टामा एक हजार ३४४ जनाको ज्यान गएको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । यो समेतगरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको सङ्ख्या ५ लाख ५३ हजार १७९ पुगेको छ । यहाँका अधिकारीहरूले बुधवार यस अघिका दिनहरूको तुलनामा धेरै नागरिकको कोभिड—१९ सङ्क्रमणबाट निधन भएको बताएका छन् ।

त्यसैगरी कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि गएको २४ घण्टामा करीब ४८ हजारभन्दा बढी रहेको छ । योसमेत गरी ब्रजीलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको सङ्ख्या १ करोड ९७ लाखभन्दा बढी रहेको पनि ब्रजीलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्रजीलमा दुर्ई महीना अघि कोभिड—१९ का सङ्क्रमितहरू घटेको भएपनि पछिल्ला केही महीनामा भने यो सङ्ख्या बढ्दै गएको देखिएको छ ।

सरकारले कोरोना भाइरसविरुद्ध खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ। ब्रजील सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रूपमा सञ्चालन गरेको छ । ब्रजीलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो । ब्रजीलमा हरेक एक लाखजना सङ्क्रमितमा २५८ जनाको निधन भएको तथ्याङ्कले देखाएको बताइएको छ । रासस

भारतमा ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त

नयाँ दिल्ली/एएनआई

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पछिल्लो समय फेरि वृद्धि हुँदै गएको छ । केही दिन अगाडिसम्म ३५/४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको सङ्ख्या अहिले बढेर ४० हजारभन्दा बढी भएको छ ।

सरकारी अधिकारीहरूले बिहीवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५०९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

सोही अवधिमा ३८ हजार ४६५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै भएकोले सक्रिय सङ्क्रमितको सङ्ख्यामा समेत वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या तीन करोड सात लाख एक हजार ६१२ पुगेको जनाएको छ ।

कुल सङ्क्रमितमध्ये ९७.३८ प्रतिशत सङ्क्रमितहरू अहिले सङ्क्रमणमुक्त भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल ४६ करोड २६ लाख २९ हजार ७७३ स्वाब परीक्षण गरिएको छ ।

त्यसैगरी अहिलेसम्म कुल ४५ करोड ७ लाख ६ हजार २५७ खोप प्रयोग भएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here