काठमाडौं, १३ साउन/
जापानको टोकियोमा आयोजना भइरहेको ३२औं गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
एक सय मिटर फ्रिस्टाइलमा उनले एक मिनट ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चारजना खेलाडी थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् ।
यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन् । पचास मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् ।
यस अघि उनको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यस अघि २०१६ मा गौरिकाले रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।