प्रस, परवानीपुर, १२ साउन/
भूमिसुधार तथा मालपोत कार्यालय, पर्साले निषेधाज्ञा अवधिमा पनि घूस लिएर केही सेवाग्राहीको काम गरेको रहस्य खुलेको छ ।
गत वैशाख १६ देखि असार ६ गतेसम्म पर्सामा निषेधाज्ञाको कारण भीडभाड हुने अधिकांश सरकारी कार्यालय बन्द रहेको अवस्थामा सेवाग्राहीसँग लाखौं रुपैयाँ घूस लिएर कर्मचारीहरूले जग्गापास गरेको भूमिसुधार तथा मालपोत विभागको स्रोतले बताएको छ ।
सो अवधिमा कर्मचारी र केही लेखनदासको मिलेमतोमा ५६ वटा जग्गासम्बन्धी काम भएको विभागकै उच्च अधिकारीले बताएका छन् । सो अवधिमा मालपोत कार्यालय, पर्साको चलानी रजिस्टरमा पनि जग्गासम्बन्धी काम भएको विवरण उल्लेख गरिएको छ ।
बैंकको रोक्का, दृष्टिबन्धक, लेखत, रजिस्टे«शनलगायत विभिन्न काम भएको बताइएको छ । रोक्का र दृष्टिबन्धक रु ५० हजार र जग्गापासको काम रु १ लाख लिएर गरिएको बताइएको छ।
मालपोत कार्यालय, पर्साका प्रमुख वासुदेव खतिवडाले आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनले आफू निषेधाज्ञाको अन्तिमतिर वीरगंजमा सरुवा भएकोले जानकारी नभएको बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले केही जग्गाको अत्यावश्यक अवस्थामा काम गर्नुपर्ने भएकोले आफूले सिफारिश गरेको तर दर्जनौंको सङ्ख्यामा गोप्यरूपमा जग्गाको काम भएको छ भने त्यसबारे छानबिन गर्ने उनले बताए ।
“निषेधाज्ञा अवधिमा केहीले उपचार खर्च भएन भनेर जग्गा बेच्ने उद्देश्यले लालपुर्जा लिएर आएका थिए । दुई/तीन वटा त्यस्ता सिफारिश हामीले गरेका थियौं, बाँकी ५६ वटा जग्गासम्बन्धी काम कसरी भयो भन्ने विषयमा छानबिन गर्नेछु,” उनले भने ।
मालपोत कार्यालय, पर्सामा धर्मेन्द्र महतो, प्रभावतीदेवी तिवारी, ममता साह, भीष्म पराजुली, नितेश कुमार, रामकेवल मण्डल, विवेक साह, सरोष्तम दवाडी, कमलेश यादव, प्रमोद चाचान, अरुण मिश्र, दीपु गिरी, लीलावतीदेवी कोइरिन, रोहित साह, सनी बैठा, प्रेम कुर्मीलगायत व्यक्तिका जग्गाको काम निषेधाज्ञा अवधिमा भएको भूमिसुधार तथा मालपोत विभागको अनलाइन सर्भरबाट थाहा भएको छ ।
यस विषयमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनले असार ७ गते नै भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुखसँग जानकारी माग गरे तापनि अहिलेसम्म कार्यालयले कुनै लिखित जवाफ बुझाएको छैन ।