प्रस, रौतहट, १२ साउन/

देवाहीगोनाही नगरपालिकामा मङ्गलवार स्थानीयले तोडफोड गरेका छन् ।

गत वर्ष प्रदेश नं २ सरकारबाट ७ सय बोरा चामल, दाल, चिउरा, खानेतेल, नून, मसलालगायतका सामग्री कोरोना पीडितलाई राहत वितरण गर्न दिएकोमा वितरण नगर्दा कुहिएकाले स्थानीयहरू विरोधमा उत्रेका हुन् ।

कुहिएका चामल, नून, खानेतेल, दाल, मसलाहरू हिजो राति नगरपालिकाको जेसिबीले खाल्डो खनी गाडेको विषयमा आज नगरवासीले नगरप्रमुख धर्मेन्द्र पटेलको विरोधमा नारा जुलुस लगाउँदै नगरपालिकाका भवनका सीसा तोडफोड गरेका हुन् ।

कोरोना पीडितलाई दिने राहत वितरण नगरी नगरप्रमुखले पीडितमाथि अन्याय गरेको आरोप नगरप्रमुख प्रत्याशी धर्मेन्द्र पटेलले बताए ।

गत वर्ष नै वितरण गर्ने राहत सामग्री मधेस सङ्ग्रहालय देवाहीगोनाहीमा राखी कुहाएर नष्ट गरेको वडा नं ६ का अध्यक्ष अनिलकुमार झाले बताए ।

वडा नं ४ का अध्यक्ष रामप्रवेश पटेलले बैठक बोलाउन नगरप्रमुख धर्मेन्द्र पटेलसँग बारम्बार भन्दा पनि आलटाल गरी राहत सामग्री नष्ट गराएको आरोप लगाए ।

वडा नं ८ का अध्यक्ष हरिप्रसाद पटेलले रातारात खाल्डो खनी चामल गाडेकोप्रति दुःख व्यक्त गर्दै नियम कानूनबमोजिम कुनै कार्य नगरप्रमुख पटेलले नगरेको आरोप लगाए । छानबिन गरी कारबाईको माग उनले गरेका छन् ।

यस सम्बन्धमा प्रशासकीय अधिकृत वीरेन्द्र चन्द्रवंशीले केही बोल्न चाहेनन् । नगरप्रमुख पटेलले २० बोरा चामल कुहिएकाले खाल्डो खनी गाडेको स्वीकार गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here