प्रस, वीरगंज, ११ साउन/
जसपाका केन्द्रीय सदस्य निजामुद्दीन समानीको नेतृत्वमा पोखरिया नगरपालिकाविरुद्ध धर्ना तथा भन्डाफोर अभियान शुरू भएको छ ।
शिक्षा, स्वास्थ्य, रोजगारका साथै भौतिक निर्माणका लागि सङ्घ तथा प्रदेश सरकारबाट आएको बजेट पोखरिया नपाले खर्च नगरेर फ्रिज गराएको भन्दै सोविरुद्ध धर्ना तथा भन्डाफोर अभियान सञ्चालन गरिएको नेता समानीले बताए । उनले २०७७ माघ १५ गतेदेखि आफूले पटक–पटक ठेक्काबाट काम गर्न नगरप्रमुखलाई धर्ना, दबाब दिंदै आएको तर टेन्डरबाट ठेक्का नगरी गोप्य टेन्डर गरेको कारण बजेट फ्रिज भएको बताए ।
उनले गत आव २०७७/७८ को आर्थिक मसान्तमा वर्षा भइरहँदा ९० लाखको ग्रेभल तथा औषधि खरीदलगायतका टेन्डर गरेर आर्थिक चलखेल गरिएको र टेन्डरबाट गर्नुपर्ने अन्य कामप्रति बेवास्ता गरिएकोले बजेट फ्रिज भएको बताए । उनले भौतिक निर्माण, शिक्षा तथा युवा स्वरोजगारलगायतमा करोडौं रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको तर पोखरिया अस्पतालको भवन निर्माण, अक्सिजन प्लान्ट, एम्बुलेन्स खरीद, औषधि खरीद तथा फोहर व्यवस्थापनको काम हालसम्म सम्पन्न गर्न नसक्दा आम जनमानस सो सेवाबाट वञ्चित भएको बताए । उनले ९ सूत्रीय माग राख्दै पोखरिया अस्पतालमा अनिश्चितकालीन धर्ना शुरू भएको बताए । उनले धर्नासँगै पोखरिया नपामा भएको भ्रष्टाचारको भन्डाफोर गरिने बताए ।