प्रस, परवानीपुर, ११ साउन/

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्कको वीरगंजमा सेवा प्रभावकारी नभएको उपभोक्ताहरूले गुनासो गरेका छन् । विगत ६ महीनादेखि वल्र्डलिङ्कको सेवाका कारण उपभोक्ताहरू पीडित छन् । वीरगंज–१२ मुर्लीका अमित अग्रवालका अनुसार विगत तीन वर्षदेखि जडान गरिएको इन्टरनेटमा सानातिना समस्याहरू देखिने गरे पनि अहिले ६ महीनादेखि कम्पनीले सेवाको नाममा ठगिरहेको आरोप लगाए । मैले ५० एबिपिएस स्पीडको नेट लिएको छु तर १० एमबिपिएस पनि चल्दैन, ढिलो नेट चल्दा काम गर्न पनि समस्या हुन्छ, उनले भने, वल्र्डलिङ्कले वर्षभरिको शुल्क शुरूमैं लिने र इन्टरनेटको गति भरपर्दाे नदिने गरेकोले आफू पीडित भएको छु ।

कम्पनीको कार्यालयमा पटक–पटक गुनासो गर्दा नेट मरम्मतको काम नभएको उनले बताए । इन्टरनेट नचलेपछि कार्यालय जाँदा पनि आजभोलिमा कर्मचारीले नेट ठीक पार्छन् भन्ने आश्वासन पाएको तर हालसम्म समस्या समाधान नभएको उनले बताए । त्यसैगरी, वीरगंज–८ पानीटङ्कीका रोहित कुमारले पनि वल्र्डलिङ्कले निष्प्रभावी सेवा दिएको गुनासो गरे । उनले पनि इन्टरनेट मरम्मतको लागि कार्यालयमा धाउँदा पनि समस्या समाधान नभएको बताए । वीरगंज–६ गहवाका नरेश सर्राफ पनि वल्र्डलिङ्कले सेवाको नाममा वीरगंजका हजारौं उपभोक्तालाई ठगिरहेको आरोप लगाए । उनले कम्पनीले वीरगंजका उपभोक्ताको खासै चिन्ता नगरेको र खाली उपभोक्ता बढाउने खेलमा लागेको गुनासो गरे ।

वल्र्डलिङ्क वीरगंज शाखाका फिल्ड सुपरभाइजर प्रदीप साहले भने प्राविधिक कारणले केही ग्राहकको इन्टरनेटमा समस्या आएको तर मरम्मत कार्य पनि अघि बढेको बताए । उनले सेवाग्राहीको गुनासो अनुसार कर्मचारी परिचालन गरी समस्यारहित सेवा बनाउन आफुहरू प्रयासरत रहेको औल्याए । हरेक दिन गुनासोहरू आउने गरेको स्विकार गर्दै समस्याहरूको समाधान गर्ने काम भइरहेको बताए ।साहले भने, ‘कहिले तार, कहिले राउटर, कहिले अन्य कुराहरूमा सामान्य समस्या आउनु स्वभाविक हो । तर समस्या भइसकेपछि हामीलाई जानकारी आएसम्म हामीले ढिलै भएपनि समाधान गरेकै छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here