ट्युनिस ११ साउनरसिन्हवा
ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद् निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेका बताइएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतवार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले संसद् पनि निलम्बन गरेको बताइएको छ ।
आइतवार राति उनले प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए । राष्ट्रपति काइस सेइदले आइतवार राति चालेको यो कदमको जानकारी राष्ट्रपतिको आधिकारिक फेसबूकमा भिडियो राखेर दिएका छन् । त्यसपछि यहाँको सरकारको नेतृत्व उनी आफैंले गरेका छन् । उनले अकस्मात् गरेको सो घोषणामा अर्का प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैंले सरकारको नेतृत्व गर्ने बताएका छन् ।
त्यसैगरी यहाँको संसद् पनि निलम्बन गरेर सबै सांसदहरूको पद स्वतः खारेज गरेको पनि सो भिडियोमार्पmत जानकारी गराएका छन् । आइतवार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेला पनि सरकारले जनतालाई केही राहत र सहुलियत दिन नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरूले वर्तमान सरकार हटाउन र संसद् पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए । रासस