प्रस, वीरगंज, १० साउन/
वीरगंज महानगरको सडकपेटीमा जथाभावी भण्डारण गरिएका निर्माण सामग्रीलाई वीरगंज महानगरपालिकाले जफत गरेको छ ।
वीरगंजको बाइपास क्षेत्रमा सडक र पेटी अतिक्रमण गरेर अनधिकृतरूपमा राखिएका गिट्टी, बालुवा, ढुङ्गा, कबाडीका सामान आइतवार पनि महानगरपालिकाले जफत गरेको छ । महानगरको दोस्रो बाइपास क्षेत्रको नगवा चोकदेखि भन्सारसम्म जाने सडक किनारामा राखिएका निर्माण सामग्री शनिवार वीरगंज महानगरपालिकाले जफत गरेको थियो ।
आइतवार नयाँ बसपार्कदेखि उत्ततर्फ सडक किनारामा राखिएका इँटा, गिट्टी, बालुवा, ढुङ्गा, टायरलगायत कबाडी सामान नियन्त्रणमा लिएको छ ।
महानगरपालिकाले पटक–पटक सूचना जारी गरी सडकपेटीमा अनधिकृतरूपमा राखिएका सामान हटाउन अनुरोध गरेको र नहटाएपछि महानगरपालिकाको सरसफाइ शाखाका कर्मचारी, नगर प्रहरी र सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गतको फोहोर व्यवस्थापन गर्ने ठेकेदारको संयुक्त पहलमा सडकपेटीमा राखिएका सामानहरू हटाउने अभियान शुरू गरिएको सरसफाइ शाखाका इन्चार्ज सर्फुद्दीन मियाँँले बताए ।
सडकपेटीमा व्यापार–व्यवसाय प्रयोजनका लागि जथाभावी निर्माण सामग्रीहरू राखिदिंदा दुर्घटनाको जोखिम बढेको र शहरको सौन्दर्यलाई असर पार्ने भएकोले हटाउन थालिएको नगर प्रहरी इन्चार्ज हरि भुसालले बताए ।
उनले सडकपेटीमा जथाभावी ढुङ्गा, बालुवा, गिट्टी, टायर तथा कबाडी सामान राखेमा वीरगंज महानगरपालिकाको सरसफाइ ऐन २०७५ अनुसार कारबाई गर्ने चेतावनी पनि दिए ।