प्रस, सेढवा, १० साउन/
एशोसिएशन अफ नेपाली तराईन इन अमेरिका (एन्टा)को सहयोगमा लकडाउनबाट प्रभावित पर्साका ग्रामीण भेगका विपन्न परिवारलाई शनिवार राहत वितरण गरिएको छ ।
कोरोना सङ्क्रमणको कारण रोजगार नपाएका र विपन्न परिवारका ९० विपन्न परिवारलाई राहत वितरण गरिएको सामाजिक अभियन्ता प्रकाश थारूले बताए ।
हैप्पी फाउन्डेशनको आयोजनामा जगरनाथपुर गाउँपालिका–१ बिसनपूर्वाका ३५, जीराभवानी गाउँपालिका–२ सेढवाको चमार टोलका ३१ परिवारलाई राहत वितरण गरिएको थियो ।
त्यस्तै, जीराभवानी गापा–१ पिपरा टोलमा १६ तथा ठोरी गापा–५ सुवर्णपुरका ८ परिवार गरी ९० परिवारलाई राहत वितरण गरिएको थारूले बताए । प्रतिपरिवार राहत सामग्रीमा २५ किलो चामल, आलु २ किलो, दाल १ किलो, खानेतेल १ लिटर र सोयाबिन १ किलो थियो ।
त्यस्तै, भोलेन्टियर क्रप्स नेपालले विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जीराभवानीलाई उपकरण वितरण गरेको छ । विपद् व्यवस्थापन उपकरण सामग्री अन्तर्गत हेल्मेट १० थान, डोरी २ रोल, आगो निभाउने सिलिन्डर १ थान, बाल्टिन २ थान, कुटो २ थान र बेल्चा ५ थान वितरण गरिएको थारूले बताए ।
कार्यक्रममा फाउन्डेशनका अध्यक्ष चन्दन जैसवाल, व्यवस्थापक कृष्ण कुशवाहा, बृजेश्वरप्रसाद चौधरी, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जीराभवानीका सशस्त्र प्रहरी निरीक्षक केदार राईको सहभागिता थियो ।