मुम्बई, १० साउन/एएफपी
भारतमा भारी मनसूनी वर्षाका कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतवार १२४ पुगेको भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरू दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ ।
भारतको पश्चिमी क्षेत्रमा बिहीवारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
महाराष्ट्र राज्यमा बिहीवार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ ।
पहिरोमा दर्जनभन्दा बढी घर परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेका बताइएको छ ।
चिप्लुनका केही भागमा बिहीवार निरन्तर २४ घण्टाको वर्षापछि पानीको तह २० फिट (छ मिटर)सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वर्षापछिको डुबानका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा एक अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका आठजना बिरामीको मृत्यु भएको थियो ।
उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर विद्युत् आपूर्ति अवरुद्ध हुनासाथ उनीहरूको मृत्यु भएको हो । रासस