- अनन्तकुमार लाल दास
वायु प्रदूषण प्रमुख पर्यावरणीय मुद्दा मध्ये एक हो । यो सबैको सरोकारको विषय हो । यसबाट ओजोन तह प्रभावित भइरहेको हुनाले पर्यावरणमा गम्भीर समस्याको यो प्रमुख कारण बनेको छ । प्रदूषणको प्रमुख कारण बढ्दो जनसङ्ख्या आवश्यकतामा वृद्धि हुनु हो । मानिसको दैनिकी र उपभोग्य सामग्रीमा प्रयोग हुने डरलाग्दो रसायन, वातावरणलाई दूषित गर्ने कारण हो जसले हावापानीमा नकारात्मक परिवर्तन ल्याउन बाध्य गर्छ । उद्योगीकरण प्रक्रियामा धेरै हानिकारक ग्याँस, पेन्ट र ब्याट्रीको आक्रामक सञ्चालन, चुरोट आदिले कार्बनमोनोअक्साइड, यातायातका साधनले कार्बन डाइअक्साइड र अन्य थुप्रै विषाक्त पदार्थ वातावरणमा प्रवाहित गर्छ । सबैखाले प्रदूषण पर्यावरणसँग जोडिएको हुनाले ओजोन तहलाई हानि पु-याएर सूर्यको हानिकारक किरण पृथ्वीसम्म आइपुग्छ । वायु प्रदूषणको स्तर कम गर्न हाम्रो दैनिकीमा ठूलो परिवर्तन ल्याउने खाँचो छ । वायु प्रदूषण कम गर्न सबैभन्दा पहिले वनफडानी रोक्नु आवश्यक छ । डिजल–पेट्रोलबाट चल्ने सार्वजनिक परिवहनमा कमी ल्याउनुपर्छ । कीटनाशक औखतिहरूको स्प्रे वर्जित गर्नुपर्छ । त्यस्ता गतिविधिहरूलाई प्रोत्साहित गर्नुपर्छ जसले वातावरण प्रदूषित हुनबाट जोगाउँछ ।
वायु पृथ्वीमा रहेको जीवजगतको लागि नभई नहुने एउटा तत्व हो । यसबाट नै जीवजन्तुलाई अक्सिजन र वनस्पतिलाई कार्बन डाइअक्साइड प्राप्त हुन्छ । वायुमण्डल एउटा कम्बलजस्तै हुन्छ जसको अनुपस्थितिमा तापक्रम बढी वा न्यून हुन सक्छ । वायुमण्डलले नै अल्ट्राभायलेट किरणबाट हामीलाई जोगाउँछ र उल्काहरूलाई डढाएर नष्ट गर्छ । वास्तवमा वायुमा उपस्थित ग्याँसमाथि प्राकृतिक वा मानवीय प्रभाव नै वायु प्रदूषणको लागि जिम्मेवार रहेको छ । पृथ्वीको वातावरण विभिन्न प्रकारको ग्याँसले बनेको छ । जसमा मानिस र सबैखाले जीवजन्तुहरूका लागि चाहिने अक्सिजनको मात्रा २४ प्रतिशत मात्र रहेको छ । विस्तारै पृथ्वीमा भइरहेको परिवर्तनले गर्दा अक्सिजनको मात्रामा कमी हुन थालेको छ । यसमा कैयन प्रकारका विषाक्त ग्याँसहरू पनि मिसिएका छन् । साधारण शब्दमा भन्ने हो भने स्वच्छ वायुमा रसायन, सूक्ष्म पदार्थ, धूलकण, विषाक्त ग्याँस, जैविक पदार्थ, कार्बनडाइअक्साइड आदिको मिसावटका कारण वायु प्रदूषित हुन्छ ।
जीवमण्डलको आधार वायु हो । वायुमा उपस्थित अक्सिजनमाथि नै जीवन निर्भर छ । मानिस र जीवजन्तु वायुमण्डलबाट अक्सिजन लिन्छन् र कार्बनडाइअक्साइड निष्काशित गर्छन् जसलाई वनस्पतिहरूले ग्रहण गर्छन् । यसबीचको सन्तुलनमा समय–समयमा व्यवधान उत्पन्न हुने गरेको छ । वायु प्रदूषण त्यस बेला प्रारम्भ हुन्छ जब वायुमा नचाहिदो तत्व र ग्याँस समाविष्ट हुन्छ । हुनत यो समस्या नयाँ होइन, किनभने कैयन प्राकृतिक कारण, जस्तै ज्वालामुखी विस्फोट, तूफानबाट उत्पन्न तेज हावाले माटोको कण वायुमा घुल्नु वा जड्डलको आगोबाट प्राचीनकालमा पनि वायु प्रदूषण हुँदै आएको छ । आगोको आविष्कारसँगै प्रदूषणको शुभारम्भ भएको हो । तर त्यस बेला जनसङ्ख्या सीमित भएको कारण यो त्यति प्रभावी थिएन । आवश्यकता कम थियो, इन्धनको प्रयोग थोरै हुन्थ्यो । वन–जड्डल पर्याप्त थिए । यस कारण प्रदूषित पदार्थ पर्यावरणबाट आफैं नष्ट हुन्थे किनभने वायुमण्डलमा स्वतः शुद्ध र सन्तुलित हुने क्षमता हुन्छ । तर अहिले उद्योग, विज्ञान र प्रविधिमा भएको प्रगतिले यस गणितलाई झूटो साबित गरिदिएको छ किनभने मानिसहरू तीव्र गतिले वायुमण्डलमा प्रदूषित पदार्थ विसर्जन गरिरहेका छन् जुन वायु प्रदूषणको मूल कारण हो ।
वायु प्रदूषणका दुई स्रोत छन्–पहिलो प्राकृतिक र दोस्रो मानवीय । प्राकृतिक स्रोतमा ज्वालामुखी पहिलो हो तर यसको प्रभाव सीमित र क्षेत्रीय हुन्छ । ज्वालामुखी विस्फोट हुँदा यसबाट निस्कने धूवाँ र विभिन्न प्रकारका ग्याँस वायुमण्डलमा प्रवेश गरेर प्रदूषणलाई बढाउँछ । अर्को हो वन–जड्डलमा लागेको आगो, जो हजारौं वर्गकिलोमिटरमा वायु प्रदूषणको कारण बन्छ । तेस्रो आँधी–बेहेरी जसले वायुमण्डलमा धूलकण फैलाउने र प्रदूषण बढाउने काम गर्छ । समुद्री लवण र खनिजकण पनि प्रदूषण बढाउन सहयोगी हुन्छ । हिलाम्य प्रदेशमा सडेगलेको वस्तुबाट निस्कने मिथेन ग्याँसले वातावरणलाई प्रदूषित गर्छ । यसबाहेक हुस्सुले पनि प्रदूषण फैलाउने काम गर्छ । प्राकृतिक स्रोतबाट हुने प्रदूषण सीमित तथा थोरै हानिकारक हुन्छ किनभने प्रकृति स्वयं विभिन्न क्रियाबाट यसमा सन्तुलन बनाइराख्छ ।
वर्तमानमा प्राकृतिक स्रोतभन्दा बढी वातावरणलाई प्रदूषित गर्ने कार्यमा मानिस संलग्न रहेको कुरा भन्नु गलत हुँदैन किनभने ऊर्जाको विविध उपयोग, उद्योग, परिवहन, रसायनको प्रयोगमा वृद्धि आदिले जहाँ मानिसलाई कैयन प्रकारको सुविधा प्रदान गरेको छ त्यहीं वायु प्रदूषणको रूपमा सङ्कट पनि जन्माएको छ । यसबाहेक नियमित घरेलू कार्यमा पनि इन्धनको रूपमा दाउरा, कोइला, गोबर, मट्टीतेल, ग्याँस आदिको प्रयोगले कार्बनडाइअक्साइड, मोनोअक्साइड, सल्फर डाइअक्साइड आदि ग्याँस उत्पन्न हुन्छ जसले वायुलाई प्रदूषित गर्छ । परिवहनमा भएको प्रगतिले जहाँ एकातिर संसारलाई नजीक ल्याएको छ त्यहीं त्यसबाट निस्कने धूवाँमा हानिकारक कार्बनमोनोअक्साइड र शीशाको कण र विषाक्त ग्याँसले वायु प्रदूषणमा वृद्धि गरेको छ । विकसित देशहरूको तुलनामा हाम्रो देशमा वाहनको कमी छ तर वायु प्रदूषणमा कमी छैन, किनभने पुरानो वाहन र त्यसको मरम्मतसम्भार सही तरीकाले भइरहेको छैन । वायु प्रदूषणको लागि हाम्रो देशमा जहाँ वाहन जिम्मेवार छ, त्यहीं उद्योगहरू पनि कम जिम्मेवार छैनन् । सही भन्ने हो भने वायु प्रदूषण औद्योगिक क्रान्तिको देन हो । उद्योगबाट निस्कने विभिन्न पदार्थको धूवाँ वायुमण्डलमा मिसिंदा वायु प्रदूषण हुन्छ । उदाहरणका लागि लस एजेल्स शहरलाई सधैं धूवाँको बादलले छोपेको हुन्छ । जापानमा वायु प्रदूषण हुँदा विद्यालय जाने केटाकेटीहरूले मास्क लगाउनुपर्छ । भारतमा जहाँ बढी उद्योग छन्, त्यहाँको मानिस कैयन रोगबाट ग्रसित छन् ।
यसैगरी अम्लीय वर्षा पनि वायु प्रदूषणको एउटा खतरनाक किसिम हो । यस प्रकारको वर्षा सल्फरअक्साइड वायुमा सामेल भई सल्प्mयूरिक एसिड बन्छ जुन सूक्ष्म कणको रूपमा खसिरहन्छ जसमा सल्फेट आयन धेरै हुन्छ । यसखाले जल मानिस र वनस्पति दुवैका लागि हानिकारक हुन्छ । वर्तमान समयमा कृषिमा प्रयोग हुने कीटनाशक ओखतिले पनि वायु प्रदूषण बढाउन सहयोग गरेको छ । यसैगरी पेन्ट, स्प्रे, पालिशमा प्रयोग हुने रसायन हावामा पैmलिएर वायुलाई प्रदूषित बनाउँछ । परमाणु शक्तिको प्रयोग जहाँ असीम शक्ति प्राप्तिको लागि गरिन्छ त्यहीं अलिकति असावधानीले वायु प्रदूषणमा वृद्धि मात्र नभई मृत्युको कारण पनि बन्छ । उदाहरणका लागि हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बमको अवशेष आजसम्म देख्न सकिन्छ । वास्तवमा भन्ने हो भने मानिसले उद्योग, परिवहन, ऊर्जा आदि क्षेत्रमा जुन प्रगति गरेको छ त्यसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव वायु प्रदूषणको रूपमा देखापरिरहेको छ । यो सङ्कट आज वैश्विक समस्याको रूपमा देखा परेको छ ।
जसैजसै पृथ्वीको वातावरणमा कार्बनडाइअक्साइडको मात्रा बढिरहेको छ त्यसैगरी ओजोन तह पातलिंदै गएको छ जसले गर्दा सूर्यको हानिकारक किरणका कारण छालामा कैंसर जस्ता रोगमा वृद्धि भएको छ । यससँगै अस्थमा, टाउको दुखाइ, पेटसम्बन्धी रोग, हृदय रोग, एलर्जीसमेत हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि हानिकारक छ । एउटा शोधले के देखाएको छ भने यदि यस्तै गतिले वायु प्रदूषण बढ्यो भने सन् २०५० सम्म पृथ्वीको तापक्रममा ४ देखि ५ डिग्री सम्म वृद्धि हुन्छ र पृथ्वीमा भएको हिमनदीहरू पग्लेर भयङ्कर बाढी आउँछ जसले पृथ्वीलाई नै सखाफ पार्छ ।
वायु प्रदूषणमा नियन्त्रण गर्न धेरै भन्दा धेरै वृक्षारोपण गर्नुपर्छ जसले प्रदूषित वायुलाई सफा गर्छ । अर्कोतिर जनसङ्ख्या वृद्धिमाथि नियन्त्रण गरेर पनि प्रदूषण न्यून गर्न सकिन्छ । यसैगरी धेरै प्रदूषण फैलाउने कलकारखाना कि बन्द गर्नुपर्छ वा त्यसको चिमनी अझ अग्लो बनाउनुपर्छ । यसबाहेक ऊर्जाका नयाँ–नयाँ स्रोतको खोजी गर्नुपर्छ । खुलामा हुने निर्माण कार्यमा रोक लगाउनुपर्छ । एउटा निश्चित अवधि चलेपछि, वाहनमा पूर्ण प्रतिबन्ध लगाउनुपर्छ र सार्वजनिक वाहनको प्रयोग बढाउनुपर्छ । वायु प्रदूषणमा नियन्त्रण गर्न तयार गरिएको कानून प्रभावकारी ढड्डले लागू गर्नुपर्छ र प्रदूषण नियन्त्रण प्रमाणपत्रलाई देशभरि अनिवार्य बनाउनु पर्छ । प्रदूषणसम्बन्धी जनचेतना कार्यक्रमलाई व्यापक बनाउनु पर्छ । प्रारम्भिक तहदेखि नै वायु प्रदूषणलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ जसबाट बाल्यकालदेखि नै केटाकेटीलाई के गर्दा प्रदूषण फैलिन्छ भन्ने कुरा थाहा होस् । गाउँ–गाउँमा गएर सडक नाटक वा अन्य माध्यमले आम जनमानसलाई जागरूक र सचेत बनाउनुपर्छ । वन फडानी रोक्नुपर्छ अनि मात्र हाम्रो देशमा वायु प्रदूषण न्यून गर्न सकिन्छ । वायु प्रदूषणले बिस्तारै हाम्रो ज्यान लिन्छ । भावी पीढीको लागि यदि पृथ्वीलाई जोगाउनुछ भने यसको नियन्त्रण आवश्यक छ । जबसम्म हामी सबैले यस गम्भीर कुरालाई बुझ्दैनौं र यसबारे सचेत हुँदैनौं तबसम्म वायु प्रदूषण न्यून गर्न सकिन्न । सरकारी प्रयासले मात्र यसमा नियन्त्रण सम्भव छैन । यस कारण हरेक नेपालीले आफ्नो सन्ततिलाई यस स्लो–प्वाइजनबाट जोगाउन एक अर्कालाई यसबारे सचेत बनाउनुपर्छ र के गर्दा राम्रो हुन्छ भन्ने कुरा बुझाउनुपर्छ । यसको लागि स्वयंको बानी–बेहोरमा परिवर्तन ल्याउने खाँचो छ । औद्योगिक क्षेत्रलाई बसोवास स्थलबाट टाढा राख्नुपर्छ तथा कम वायु प्रदूषण गर्ने मेशीनहरूको प्रयोगका लागि उद्योगकर्तालाई प्रोत्साहित गर्नुपर्छ । यस बाहेक अनेक प्रकारका अन्य सकारात्मक प्रयासको थालनी आजैदेखि गर्नुपर्छ । यदि यसो गरियो भने भावी सन्ततिलाई जोगाउन सकिन्छ अन्यथा उनीहरूको भविष्य कस्तो होला भन्ने कुराको कल्पना गर्दा आफ्नै आङ सिरिङ हुन्छ ।