प्रस, वीरगंज, ९ साउन/
वीरगज महानगरपालिकाले सडकमा राखेको अतिक्रमण हटाउने कार्य शनिवारदेखि पुनः शुरू गरेको छ । बाईपास सडकमा राखिएका सामान तत्काल हटाउने, नियन्त्रणमा लिने कारबाई थालिएको छ ।
बाइपास सडकको हालैमा निर्माण कार्य सम्पन भएको तर सडक पेटीमा क्षमताभन्दा बढी सामान बोकेका सवारी साधन चलाउँदा पेटी नै भत्किने अवस्थामा पुगेको छ ।
सम्बन्धित ठेकेदारले दुईपटकसम्म मरम्मत गर्दा पनि समस्याको समाधान भएको छैन । सडकपेटीमा गिट्टी, बालुवा, ईंट, कबाडी सामान, बिग्रेका गाडीहरू जथाभावी राख्दा सडक बिग्रनुका साथै दुर्घटना समेत हुने गरेको छ ।
सडकको दुवैतर्फ रहेको नालाको स्ल्याबसमेत ओभरलोड सवारीका कारण भत्केको छ । सडक छेउछाउ खोलिएका बडी–करखाना तथा कबाड पसलको कारण सडकको ५० प्रतिशत भाग अतिक्रमित छ । महानगर तथा जिल्ला ट्राफिक कार्यालय, पर्साले पटकपटक चेतावनी दिंदा पनि अतिक्रमण नहटाएपछि सामान जफत गर्ने अभियान महानगरले शुरू गरेको महानगरका सरसफाइ शाखा प्रमुख सरफुद्दिन अंसारीले बताए ।
भत्केको नाला वा स्ल्याब तथा फूटपाथ, जुन पसल एवं गोदाम अगाडि भत्केको छ उसैलाई मरम्मत गराउने गरी दण्डित गर्ने महानगरको कारबाई प्रक्रिया रहेको शाखा प्रमुख अंसारीले बताएका छन् ।