प्रस, वीरगंज, ७ साउन/
निषेधाज्ञामा पनि पर्सा र चितवन जिल्लामा पर्ने राष्ट्रिय निकुञ्ज भएर तथा राष्ट्रिय वनबाट लागूऔषध गाँजा, चरेसको तस्करी जारी छ ।
निषेधाज्ञाको कारण सार्वजनिक सवारीसाधनको प्रयोग नभएको कारण अहिले जङ्गल क्षेत्रबाट गाँजा, चरेसको तस्करी बढेको छ । मकवानपुर र धादिङबाट तस्करहरूले मनहरी, लोथर भई जङ्गलको बाटो पर्सा जिल्लामा गाँजा ल्याउने र भारत लैजाने क्रम जारी छ ।
निकुञ्ज तथा राष्ट्रिय वनका तीनवटा स्थानबाट अहिले गाँजा, चरेस ढुवानी भइरहेको छ । पर्सा राष्ट्रिय निकुञ्ज भएर मनहरीबाट रामभौरीभाठा हुँदै विजयबस्ती, ओडार, गोपीबस्ती र शिकारीबास पु-याइन्छ र त्यहाँबाट भारत लैजाने काम हुन्छ । यसैगरी, मनहरिबाट चितवनको माडी भएर चितवन राष्ट्रिय निकुञ्जको बाटो ठोरी पु¥याउने र त्यहाँबाट भारत पु-याइन्छ ।
यसैगरी, मनहरीबाट रामभौरी आउने गाँजा, चरेस पटेर्वासुगौली, चारभैया पोस्ट, गढुवालाइन भएर सुवर्णपुर, वसन्तपुर, महादेवपट्टि लैजाने र त्यहाँबाट भारत लाने कार्य भइरहेको छ । यसैगरी, चारभैया, सोनवर्षा, गादी, चाफी, रामभौरी, खरहट्टि, रामपुर, धर्मपुर, देकुली, मलाही टोला, उत्तर सुगौली, भतौडा, गदियानी, पटेर्वा, बगडाडोभ, सत्राहवाघाट, भलुवाही खोला, निचुटा, देउरिया, अकुवा, देउरवाना, जगरनाथपुरलगायतका स्थानमा पु¥याउने कार्य भइरहेको छ ।
त्यस्तै, महादेवपोस्ट पर्सा राष्ट्रिय निकुञ्ज भएर मधुवन मथवल, सकुनिया, औराहा, मनवा, घटनी, बडेर्वा, हरपुर, बडनिहार, बिरुवागुठी पु-याइन्छ ।
भण्डारण हुने थलो
जङ्गलको बाटो आएको गाँजा पर्सा जिल्लाको देउरिया, पटेर्वा, देकुली, सोनवर्षा, कञ्चनपुर, बैरियामा भण्डारण हुने गरेको छ । करीब १५/२० जना तस्करले मकवानपुर, धादिङमा उत्पादित गाँजा, चरेस जङ्गलको बाटो भएर भरियामार्फत भित्रायाउने गरेका छन् ।
कुन बाटो भारत पस्छ ?
पर्सा जिल्लाका विभिन्न स्थानमा भण्डारण गरिएका गाँजा, चरेस अमरपट्टि, प्रसौनीभाठा, अलौं, सबैठवा, पकाहामैनपुर, धोरे, मिर्जापुर, टिहुकी, भिस्वा, जानकीटोला, पाँडेपुर, पिडारीगुठी, महादेवपट्टि र आसवारी भएर भारतका विभिन्न स्थानमा पु-याइन्छ ।
गाँजाको मूल्य
गाँजा उत्पादन हुने मकवानपुर र धादिङमा अहिले पर्साका तस्करहरूले रु ३ हजारदेखि ३५ सयसम्म प्रतिकिलो गाँजा र ४ हजारदेखि ४५ सय रुपैयाँसम्म प्रतिकिलो चरेस खरीद गर्छन् । यही गाँजा, चरेस पर्सा जिल्लामा आइपुगेपछि यसको मूल्य दोब्बर–तेब्बर हुन्छ । पर्सामा अहिले गाँजा प्रतिकिलो रु ७–८ हजार छ भने चरेस रु १४–१६ हजार प्रतिकिलो छ । यही गाँजा, चरेस भारत पु-याउँदा तस्करहरूले प्रतिकिलो रु १८–२० हजार गाँजा र चरेस रु २४–२५ हजार प्रतिकिलो पाउँछन् ।
गाँजा, चरेसको तस्करीमा आम्दानी बढेकाले अहिले धेरैजसो मानिस यसतर्फ आकर्षित भएका छन् । जङ्गलको बाटो ढुवानी गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ । पछिल्लो समयमा महिला र बालबालिकाहरूको पनि प्रयोग भइरहेको छ ।