नयाँ दिल्ली, ७ साउन/एएनआई
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोना भाइरसबाट सङ्क्रमित थपिएका छन् ।
अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकोले भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको हो । सोही अवधिमा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्याभन्दा नयाँ सङ्क्रमित धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या समेत बढ्दै गइरहेको छ ।
पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ३८ हजार ६५२ रहेको अधिकारीहरूले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर अहिले सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या तीन करोड चार लाख २९ हजार ३३९ पुगेको छ ।
भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामैं रहेकाहरूको कुल सङ्ख्या चार लाख नौ हजार ३९४ रहेको अधिकारीहरूले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितहरूको सङ्ख्याको १.३१ प्रतिशत मात्र हो । कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या चार लाख १८ हजार ९८७ रहेको छ ।
तीमध्ये ५०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड नौ लाख ११ हजार ७१२ स्वाब परीक्षण गरिएको छ । तीमध्ये १७ लाख १८ हजार ४३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो ।