प्रस, सप्तरी, ५ साउन/

बाढीका कारण सप्तरीमा चन्द्रनहरको डिल भत्किंदा ४ सय धुरीभन्दा बढी घर डुबानमा परेका छन् । सप्तकोशी नगरपालिका वडा नं ४ बलार्दहस्थित चन्द्रनहरका दुईवटा डिल भत्किंदा ४ सयभन्दा बढी घर डुबानमा परेको नगरपालिकाका प्रमुख उत्तम गौतमले बताएका छन् ।

लगातारको वर्षापछि विभिन्न खोला र नदीमा आएको बाढी ओभरफ्लो हुनुका साथै चन्द्रनहरको डिल भत्किंदा भेल बाढी बस्तीमा पसेको हो । मुलुककै ऐतिहासिक पुरानो, जीर्ण अवस्थामा रहेको चन्द्रनहरको डिल भत्किएर नहरको भेलबाढी बस्तीमा पसेको नगरपालिका प्रमुख गौतमले बताए । बाढीको कारण चन्द्रनहरमा पानी ओभरफ्लो हुनुका साथै तीव्र गतिमा बगिरहेको छ ।

महादेवा गाउँपालिका वडा नं ४ मा पनि यो नहर भत्किने अवस्थामा पुगेको गाउँलेहरूले बताएका छन् । उक्त नहरलाई बचाउन सो क्षेत्रका स्थानीयले माटो हालेर रोक्ने प्रयास गरिरहेका छन् । उक्त नहर भत्किएमा महादेवा आसपासका सयौं घर थप डुबानमा पर्ने खतरा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा सप्तरीको तत्कालीन फत्तेपुर गाविसदेखि पकरी गाविससम्म यो चन्द्रनहर निर्माण गरिएको थियो । त्रियुगा नदीबाट शुरू हुने यो नहर खाँडो खोलामा आएर मिसिने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here