रियाद/सिन्ह्वा
साउदी अरेबियाले कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोपको दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ ।
यसअघि साउदी अरेबियाले विभिन्न देशबाट यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट भेटिएकाले धेरै मानिस सङ्क्रमित हुन पुगेका छन् । त्यसैले कैयौं देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो ।
यहाँका आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमवार सो निर्णय गरेको हो । सो मन्त्रालयले कोभिडविरुद्धको सतर्कताको एक अभियानका रूपमा यो नियम बनाएको हो । साउदी प्रेस एजेन्सीले सोमवार सो समाचार दिएको छ । उक्त एजेन्सीका अनुसार साउदी अरेबियाले यही अगस्त ९ बाट यात्रा प्रतिबन्ध फुकुवा गरिने बताएको छ ।
यसअघि यहाँ कडा नयाँ भेरियन्टका कारण धेरै ठूलो सङ्ख्यामा सङ्क्रमितहरू देखिएकामा पछिल्ला केही दिनमा सङ्क्रमणको सङ्ख्या घटेपछि यो निर्णय गरिएको हो । साउदी अरेबियाले गत मे १७ देखि यो यात्रा प्रतिबन्ध लगाएको थियो । त्यसयता यहाँ कैयौं विदेशी उडान पनि रोकिएका थिए । रासस