वाशिङ्टन, ५ साउन/सिन्ह्वा
अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजाबीच द्विपक्षीय हित र अन्य आपसी सम्बन्धका विषयमा वार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह द्वितीयबीच सोमवार भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ । त्यस क्रममा उनीहरूबीच अन्य क्षेत्रीय विषयमा पनि कुराकानी भएको बताइएको छ ।
जोर्डनका राजा अब्दुल्लाह द्वितीय हाल अमेरिकाको भ्रमणमा छन् । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्ति अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका जोर्डनसँगको आपसी समझदारी र सहयोगलाई निरन्तरता दिन चाहेको बताएका थिए ।
इजरायल–प्यालेस्टाइनबीचको विवादमा जोर्डनले खेलेको भूमिकाको अमेरिकी राष्ट्रपति बाइडेनले प्रशंसा गरेको पनि सो विज्ञप्तिमा जनाइएको छ । हालै मात्र इराकको राजधानी बगदादमा इराक, जोर्डन र इजिप्टका बीचमा त्रिपक्षीय सम्मेलन पनि भएको थियो ।
अमेरिकी राष्ट्रपति बाइडेनले सो सम्मेलनमा जोर्डनको भूमिकाको सराहना गरेको पनि ह्वाइट हाउसले जनाएको छ । उनीहरूबीच सिरियाको बारेमा पनि कुराकानी भएको थियो । उनीहरूले सिरियामा शान्ति स्थापनाका लागि आवश्यक सहयोग गर्नेबारेमा पनि छलफल गरेका समाचारमा जनाइएको छ । रासस