प्रस, वीरगंज, ४ साउन/

वीरगंज महानगरका सामुदायिक सिलाइ केन्द्रका परिचालकहरूले महानगरलाई ज्ञापनपत्र बुझाएका छन् ।

बालविकास शिक्षक र सामुदायिक सिकाइ केन्द्रका परिचालकहरूको पारिश्रमिक समानरूपमा रहिआएकोमा चालू आव २०७८/७९ देखि बालविकास शिक्षकहरूको पारिश्रमिक रु १५ हजार निर्धारण भएको तर आफूहरूको पारिश्रमिक भने अहिलेसम्म अन्योलमा रहको भन्दै ६ सूत्रीय मागसहित नगरप्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाइएको हो ।

बालविकासका शिक्षकहरूभन्दा आफूहरूले बढी काम गर्नुपर्ने र जोखिम उठाउनुपर्ने तर पारिश्रमिक भने उनीहरूभन्दा कम हुँदा असन्तोष सिर्जना भएको, मनोवैज्ञानिक असर परेको र मनोबल खस्केको भन्दै १५ दिनभित्र माग सम्बोधन गर्न आग्रह गरिएको छ ।

आफूहरूको पारिश्रमिक राष्ट्रिय श्रम नियम कानूनसम्मत नभएको भन्दै मासिक पारिश्रमिक दिने व्यवस्था गर्नुपर्ने, पारिश्रमिक बालविकास शिक्षकसरह हुनुपर्ने, तालीम दिनुपर्ने, सेवा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, पोशाक भत्ताको व्यवस्था गर्नुपर्ने तथा क्षमता अभिवृद्धिको लागि सिकाइ केन्द्रको अवलोकन, भ्रमण गराउनुपर्ने माग गरिएको छ ।

१५ दिनभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

नगरप्रमुखसहित प्रमुख जिल्ला अधिकारी र शिक्षा समन्वय समितिलाई पनि ज्ञापनपत्र बुझाइएको मनोज रौनियारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here