प्रस, रौतहट, ३ साउन/

इस्लामिक रिलिफ नेपालको सहयोगमा ग्रामीण विकास केन्द्रको आयोजनामा आइतवार गौरमा आयोजित समान र न्यायिक समाजको लागि लैङ्गिक हिंसा न्यूनीकरण परियोजना अन्तर्गत लैङ्गिक हिंसासम्बन्धी मुद्दा, हिंसाको सामाजिक र आर्थिक कारकहरू, कानूनी उपकरण र लैङ्गिक हिंसालाई प्रभावकारी मिडिया रिपोर्टिङमार्फत सम्बोधन गर्नेबारेमा सञ्चारकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सदस्य शैलेन्द्र झाको आतिथ्यमा भएको कार्यक्रममा उनले महिला र पुरुषबीचको असमान शक्ति र सम्बन्धको परिणामस्वरूप सिर्जित लैङ्गिक हिंसा आपराधिक कृत्य मात्र नभई मानव अधिकारको घोर उल्लङ्घन भएको बताए । उनले लैङ्गिक हिंसा महिला र पुरुष दुवैमाथि घट्न सक्ने बताए ।

उनले लैङ्गिक हिंसा धेरैजसो महिलामाथि हुने भएकोले महिलामाथिको भेदभाव उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धिलगायत महिला अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्रले महिलाविरुद्धको हिंसालाई वर्गीकरण गरेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले ग्रामीण विकास केन्द्रले महासङ्घबाट सहकार्य गर्दै आएको बताए ।

शाखाकी उपाध्यक्ष रजनी ठाकुरले महिला अधिकारबारे आफ्नो धारणा राखेकी थिइन् । ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसेनले संस्थाको प्रगति तथा कार्यबारेमा जानकारी गराए । पत्रकार धर्मेन्द्र साहले कार्यक्रम सञ्चालन गरेका थिए ।

जिल्लाका ४० जना पत्रकारको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here