प्रस, वीरगंज, २ साउन/

नेपाल पत्रकार महासङ्घको प्रदेश नं २ को भवन निर्माण समिति गठन भएको छ । प्रादेशिक कमिटीको शनिवार वीरगंजमा सम्पन्न बैठकले समिति गठन गरेको हो ।

महासङ्घ प्रदेश कमिटीका अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षता तथा महासचिव श्याम बन्जाराको सहजीकरणमा सम्पन्न बैठकले महासङ्घका गतिविधिलाई सृजनात्मकरूपमा अघि बढाउने निर्णय गर्दै प्रदेशको अस्थायी राजधानी जनकपुरमा तत्काल घर भाडामा लिएर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले महासङ्घ प्रदेशका सल्लाहकार नवलकिशोर यादवको संयोजकत्वमा महासङ्घको प्रदेश कार्यालय भवन निर्माणको लागि जग्गा व्यवस्थापन एवं भवन निर्माण समिति गठन गरिएको छ । जसमा प्रदेश २ बाट महासङ्घको केन्द्रमा प्रतिनिधित्व गर्ने नेतृत्व र प्रादेशिक समिति सदस्य रहने निर्णय भएको छ ।

सङ्घ सरकारले उपलब्ध गराएको लोककल्याणकारी विज्ञापनमा १० प्रतिशत कट्टा गरी पत्रकार कल्याण कोषमा जम्मा गर्ने निर्णयप्रति बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै सरकारसँग यो नीति अविलम्ब सच्चाउन माग गर्दैै खाइपाइ आएको रकममा कट्टा नहुने गरी लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन माग गर्ने निर्णय गरेको महासचिव बन्जाराले जानकारी गराएका छन् ।

त्यसैगरी, प्रदेश सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन तत्काल नीति तथा कार्यविधि बनाउन माग गर्ने निर्णय गरेको छ ।

आजकै बैठकले प्रदेश सरकारको सञ्चारसम्बन्धी कुनै पनि नीति निर्माण गर्दा महासङ्घलाई छलफलमा सहभागी गराउन माग गर्दै अन्यथा आफूहरूलाई स्वीकार्य नहुने निर्णय गरेको छ । बैठकले लोककल्याणकारी विज्ञापनको अभिलेखीकरण र भुक्तानी सम्बन्धित जिल्लाको हुलाक कार्यालयबाटै हुने व्यवस्था गर्नसमेत माग गरेको छ ।

सम्पन्न बैठकले प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्ने निर्णयको विरोध गर्दै यसले लोकतन्त्रको उपहास हुने ठहर गरेको छ ।

प्रदेशभित्रका सबै सञ्चारमाध्यमको विकासको लागि अविलम्ब ठोस नीति ल्याउन प्रदेश सरकारसँग आग्रह गरेको छ ।

महासङ्घ प्रदेश कमिटीको बैठकमा महासङ्घका केन्द्रीय सचिव तथा प्रदेशका निवर्तमान अध्यक्ष दीपेन्द्र चौहान, केन्द्रीय सदस्यहरू केसी लामिछाने, रिङ्कु मिश्र, ललिता साह र सल्लाहकार नवलकिशोर यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here