प्रस, सेढवा, २ साउन/
पर्साको ग्रामीण भेगका पेट्रोल पम्पबाट व्यापकरूपमा इन्धनको तस्करी भइरहेको छ । नेपालमा भारतभन्दा इन्धनको मूल्य निकै कम भएकोले इन्धनको तस्करी बढेको हो ।
ग्रामीण भेगमा रहेका नेवा पेट्रोल पम्प, नमूना पवित्रा आयल स्टोर्स, मन्दीप पेट्रोल पम्मलगायतका पेट्रोल पम्पहरूबाट इन्दनको खुलेआम तस्करी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
उक्त पम्पहरूमा नेपाली उपभोक्तालाई इन्धन छैन भन्दै फिर्ता पठाउने तर तस्करीको माध्यमबाट भने भारततर्फ पठाउने गरिरहेको जीराभवानी गाउँपालिका वडा नं २ निवासी सुदामा चौधरीले गुनासो गरेका छन् ।
सीमावर्ती नेपाली तथा भारतीय तस्करले साइकल, मोटरसाइकलको टङ्की तथा ग्यालेनमा राखेर भारतीय बजार इनर्वा, भङ्गाहा, धुमाटाड, जसौलीलगायतका बजारमा पु¥याउने गरिएको छ । लकडाउन खुलेर सीमाबाट आवागमन शुरू भएपछि इन्धनको तस्करी निकै वृद्धि भएको ठोरी–४ निवासी सुदीप लामाले बताएका छन् ।
जीराभवानी गाउँपालिका वडा नं १ मा रहेको नमूना पवित्रा आयल स्टोर्सका एक कर्मचारीले नेपाल आयल निगमले सातामा दुई ट्याङ्कर इन्धन दिने गरेको र कुनै बेला उपभोक्ताको माग बढ्दा इन्धन सकिने गरेको प्रतिक्रिया दिए ।
नेपाली बजारमा पेट्रोल १२९ रुपैयाँ प्रतिलिटर र डिजेल ११० रुपैयाँ प्रतिलिटर छ भने भारतीय बजारमा डिजेल र पेट्रोल दुवैमा प्रतिलिटर ४० रुपैयाँ महँगो पर्छ ।