नयाँ दिल्ली, २ साउन/सिन्ह्वा
भारत सरकारले नै कोभिड–१९ महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । भारत सरकारले नै भारतमा महामारीको तेस्रो लहर आउन सक्ने बताएको हो । सरकारले नागरिकलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।
भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ इन्डियाका सदस्य भिके पाउलले सो चेतावानी दिएका हुन् ।
उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो लहरको खतरा रहेको छ र त्यो लहर आगामी १०० देखि करीब १२५ दिनमा आउन सक्ने बताएका छन् ।
उनले भनेका छन्– हाम्रो जनसङ्ख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुन सक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेनौं भने यसले हामीलाई ठूलो क्षति दिन सक्नेछ ।
हालै विश्व स्वास्थ्य सङ्गठनले विश्वको अवस्थाको मूल्याङ्कन गर्दै आगामी दिनमा पनि कोभिड–१९ को चुनौती रहेको बताएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारीविरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो ।
यसअघि पनि भारतका अधिकारीले आगामी अगस्त महीनाको अन्त्यतिरबाट कोभिड–१९को तेस्रो लहर आउन सक्ने खतरा रहेको बताएका थिए । रासस