बर्लिन, २ साउन/एएफपी
अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिवार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढिरहेको बताइएको छ ।
जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइनेमा बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ। यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएको बताइएको छ ।
यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरूले जानकारी दिएका थिए । रासस