साओ पाओलो, २ साउन/सिन्ह्वा

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरूमा रहेको ब्रजीलमा २४ घण्टामा कम्तीमा पनि एक हजार ४५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्रजीलमा शनिवार त्यसको २४ घण्टाअघिदेखि गरेर एक हजार ४५६ जनाको ज्यान गएको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको सङ्ख्या ५ लाख ४० हजार ५८८ जना पुगेको छ ।

यहाँका अधिकारीहरूले शनिवार यसअघिका दिनहरूको तुलनामा धेरै नागरिकको कोभिड सङ्क्रमणबाट निधन भएको बताएका छन् ।

त्यसैगरी, कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि गएको २४ घण्टामा करीब ४५ हजारजना रहेको छ । योसमेत गरी ब्रजीलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको सङ्ख्या १ करोड ९३ लाखभन्दा बढी रहेको पनि ब्रजीलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्रजीलमा दुई महीनाअघि कोभिडका सङ्क्रमितहरू घटेका भएपनि अहिले अर्थात् पछिल्ला केही महीनामा भने यो सङ्ख्या बढ्दै गएको देखिएको छ । सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरूलाई खोप दिने कार्यलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गरिरहेको छ ।

ब्रजीलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here