प्रस, परवानीपुर, १ साउन/

मुलुककै प्रमुख भन्सार नाका वीरगंज भन्सारले गत आवको १२ महीनामा १ खर्ब ७० अर्ब ५ करोड ४७ लाख १ हजार रुपैयाँ राजस्व असुली गरेको छ । यो कुल लक्ष्यको ९९ दशमलव ६ प्रतिशत हो ।

सो भन्सार कार्यालयले गत आव २०७७/७८ को साउनदेखि असारसम्म कुल रु १ खर्ब ७० अर्ब ७६ करोड ५१ लाख ४५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो ।

भन्सार कार्यालयले थप ७१ करोड ४ लाख ४४ हजार मात्र राजस्व सङ्कलन गरेको भए लक्ष्य भेटाउने थियो । कोरोना महामारीको कारण उद्योग–व्यापार, बजार बन्द हँुदा र निषेधाज्ञाको कारण पनि करीब डेढ महीना आंशिकरूपमा आयात–निर्यातमा असर परेकाले राजस्व सङ्कलनमा कमी आएको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताएका छन् । उनका अनुसार परारभन्दा पोहोर र गत आवमा पनि कोरोना महामारीको कारण डिजेल, पेट्रोल, सवारीसाधनको आयातमा कमी आएका कारण भन्सार कार्यालय राजस्व सङ्कलन लक्ष्यको नजीक पुगे तापनि लक्ष्य भेटाउन नसकेको भन्सार अधिकारीहरूले बताएका छन् ।

असारमा मात्रै रु १५ अर्ब २४ करोड २४ लाख ७९ हजार लक्ष्य पाएकोमा वीरगंज भन्सारले १०५.४ प्रतिशत अर्थात् रु १६ अर्ब ६ करोड ८४ लाख ५३ हजार राजस्व सङ्कलन गरेको थियो । असारमा प्रतिदिन भन्सार कर्यालयले रु ५१ करोड ८३ लाख ३७ हजार राजस्व सङ्कलन गरेको थियो ।

वीरगंज भन्सारबाट गत आवमा पैठारी हुने मुख्य वस्तुुहरूमा डिजेल, मोटरसाइकल, पेट्रोल, सवारीसाधन, एमएस बिलेट, एचआर सिट, डबल क्याब पिकअप भ्यान, भटमासको कच्चा तेल, जीप, कार, भ्यान, ट्रेडिङ गुड्सलगायत बढी भित्रेको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here