प्रस, सेढवा, १ साउन/
ठोरी गाउँपालिका–५ सुवर्णपुर निवासी ४८ वर्षीय सुनीलकुमार परियारलाई बालिका करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार बिहान परियारलाई पक्राउ गरी आवश्यक कारबाईको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको सुवर्णपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक इन्दिबर चौधरीले बताए ।
गत असार २८ गते परियारले छिमेकी ११ वर्षीया बालिकलाई बलात्कार गरेको आरोप छ । उनले घरमा कोही नभएको मौका छोपी बालिकालाई बलात्कार गरेका थिए । त्यसपछि लुकेका परियारलाई आज बिहान पक्राउ गरिएको हो ।
बलात्कारको घटनापछि बालिकाको स्वास्थ्यमा असर परेको थियो र परिवारले सोधपूछ गर्दा परियारले बलात्कार गरेको बताएकी थिइन् ।
बलात्कृत बालिकाका पिता वैदेशिक रोजगारमा ७ वर्षदेखि बाहिर छन् भने आमा छैनन् । हजुरबुबाको घरमा उनी बस्दै आएकी छन् ।