बर्लिन, १ साउन/एएफपी
अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा ९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रवार जानकारी दिएका छन् ।
त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ।
धेरैको क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढिरहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तमा नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ ।
यस प्रकोपबाट यहाँ ४३ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस क्षेत्रमा यसअघि नै ३१ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरूले जानकारी दिएका छन् । शुक्रवार उक्त क्षेत्रमा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ ।
विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्ररूपमा दोहोरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएका छन् । नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।
हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एङ्गेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिएकी छन् । रासस